कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूको अपिल

कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूको अपिल

कपन अनलाइन

काठमाडौं,  साउन १८  ।

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका छन् ।
नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सिमा नाका बन्द नगरेको गुनासो पोखे । उनले भने,‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ। तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सिमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्याऔं । तर, सरकारले हाम्रो कुरै सुनेन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले काठमाडौं उपत्यकापनि अहिले कोरोना संक्रमणको भयंकर जोखिममा परेको खतरा औंल्याए । उनले भने,‘काठमाडौं खाल्डो कोरोना संक्रमणको जोखिममा परिसकेको छ । अब हामीले परीणाम देख्दै जान्छौं ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको भन्दै उनले गुनासो पोखे ।
उनले कोरोना संक्रमण रोगमा परीणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने कामपनि सरकारले नै गरेको गम्भीर आरोप लगाए । उनले भने,‘सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सकेन् । पिसिआर टेस्ट जब बढाउनुपर्नेथियो, त्यतिबेला सरकारले परीक्षणको दायरा नै घटायो । हामीले त बारम्बार परीक्षणको दायरा बढाउ भनेर सरकारलाई भनेकै थियौं । तर, सरकार गम्भीर भएन् ।’ उनले पिसिआर परीक्षण गर्नको लागि सरकारलाई केले रोकेको थियो ? भनेर प्रश्नसमेत गरे । उनले भने,‘सरकारसँग पैसा छ, तर खर्च सकिरहेको छैन् ।’ तर, सरकारले जनस्वास्थ्यमा खेलबाड गरेको उनको आरोप छ ।
पछिल्लो समय विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको र उनीहरुले आवश्यक सतर्कता र नियम नअपनाएको पनि उनको गुनासो छ । उनले भने,‘काठमाडौं उपत्यका भित्रिने नाकाहरु व्यवस्थित् गर्नुपर्छ । काठमाडौं खतरामा छ ।’ डा. दिक्षितले कोरोना परीक्षण गर्दापनि रिपोर्ट दिन ढिलाई गरिरहेकोमा पनि गुनासो पोखे ।
सरकारले कोरोनाबारे दिने गरेको तथ्यांकलाई उनले बेकारको तथ्यांकको संज्ञा दिए । उनले भने,‘रियालिटी अर्कैछ । सरकारको काम भनेको त दुई वटा मात्रै हो, एउटा लकडाउन लगाउने र अर्को लकडाउन खोल्ने । त्योबाहेक सरकारले केही पनि जानेन । सरकारले दुई जिब्रे नीति अख्तियारी गर्यो ।’ उनले दुई तिहाई बहुमतको सरकार देखेर आफूलाई धिक्कार लागेको बताए ।
उनले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकोले आम नागरिकले आँफैं सावधानी अपनाउनुपर्नेमा जोड दिए । नियमित मास्क लगाउने, हात धुने अथवा स्यानिटाईजेशन गर्ने, भौतिक दूरी कायम गर्ने (कम्तिमा साँढे चार फुट), ज्वरो अथवा रुघाखोकी लागेमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्ने पनि उनले सुझाव दिए ।
डा. दिक्षितले कोरोनाको भाइरस सुरुमा नाकमा बस्ने भएकोले नियमित सफाई गर्ने र खासगरी नेपालको पूरानो प्राकृतिक चिकित्सा पद्धतीअनुसार जल नेति गर्नपनि सुझाव दिए । उनले जल नेतिबारे अहिले बेलायतमा खोज तथा अनुशन्धान भैरहेको र छिट्टै जर्नल नै प्रकाशन गर्न लागिएको पनि जनाए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गरे । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको उनले खतरा औंल्याए । प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ अर्थात लेभल ४ मा पुगेको पनि उनले टिप्पणी गरे ।
सरकारले कोरोना समूदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महशुस गराउन नसकेको पनि उनको गुनासो छ । उनले भने,‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्नेथिए ।’
उनले कोरोनाबाट बच्ने उपायमा मुख्य कुरा भनेको मानवीय व्यवहार नै रहेको सुनाए । उनले भने,‘मानवीय व्यवहार नै मुख्य कुरा हो । अर्को भनेको सर्भेलियन्स नै हो । निगरानी बढाउने । परीक्षणको दायरा बढाउनुपर्छ ।’ सरकारले लकडाउन खुकुलो बनाएपछि परीक्षणको दायरा बढाउनुपर्नेथियो भन्ने उनको भनाई छ ।
उनले दैनिक १२ हजारदेखि १५ हजारसम्म पिसिआर परीक्षण गरिनुपर्ने बताए । उनले नेपालम अस्पतालमा बेडको कमि रहेको पनि सुनाए । उनले भने,‘सरकारले बेड बढाउनेतिर ध्यान दिनुपर्नेथियो । हरेक हेल्थपोष्टमा कम्तिमा २५ बेड थप्नुपर्छ ।’ उनले अब सरकारले गौंडा ढुक्नुपर्र्ने बेला आएको पनि बताए ।
शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताएका छन् । उनले अहिले लकडाउन खुलेपछि बाहिर निस्किएकाहरुले सावधानी अपनाउनुपर्ने बताए । उनले भने,‘बाहिर निस्किएकाहरुले मास्क लगाउनुपर्छ । रेगुलर हात धुनुपर्छ । फिजिकल डिस्ट्यान्स पालना गरौं ।’
सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । उनले भने,‘संक्रमितहरु जो उपचारमा हुनुहुन्छ, उहाँहरुलाई परिवारका सदस्यहरुले पनि भेट्न पाउँदैनन् । यो ईमोशनलाई पनि सबैले बुझ्नुपर्छ ।’ उनले कोरोनाविरुद्ध लड्ने हो भने सबैले आफ्नो मानवीय व्यवहारलाई परिवर्तन गर्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।