काठमाडौं महानगरपालिका वडा नं ३ बाँसवारी महापुरमा इको पार्क शिलान्यास
कपन अनलाइन
काठमाडौं ,साउन ११।
काठमाडौं महानगरपालिका वडा नं ३ बाँसवारी महापुरमा इको पार्क शिलान्यास गरिएको छ। २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा निर्माण हुने सो इको पार्कको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले शिलान्यास गरेका हुन्।
सो शिलान्यास कार्यक्रममा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरि प्रभा खड्गी ,वडा नं ३ का अध्यक्ष दिपक केसी सहित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
काठमाडौँ महानगरपालिकाको वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ सँग जोडिएको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
पार्कको शिलान्यास गर्दै प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गर्दै जनप्रतिनिधिले परिक्षा दिइरहेको भन्दै परिक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको बताएका थिए ।
पहिलो चरणमा उत्तरतर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा सम्पन्न गर्ने लक्ष्य लिएको र दोस्रो चरणको योजनामा किरिया पुत्री भबन र पार्क निर्माण गर्ने योजना रहेको बताउदै वडा नं ३ का अध्यक्ष दिपक केसीले पहिलो चरणको काम २०७७ मंसिर मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिएका थिए ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको बताउदै डिजाइन टिमकी इञ्जिनियर निलिमा थापा श्रेष्ठले त्यहाँको वातावरण र पर्यावरणलाई ध्यानमा राखेरपार्कको नाम नै इको पार्क राखेका जानकारी दिएकी छन ।