काठमाडौं महानगरपालिका वडा नं ११ मा भर्टिकल रोटेड पार्किङ्क संचालनका लागि छलफल
कपन अनलाइन
काठमाडौं ,साउन ११ ।
सवारी पार्किङ्मा देखिएको बढ्दो समस्या समाधानका लागि काठमाडौं महानगरपालिका वडा नं ११ ले भर्टिकल रोटेड पार्किङ्का बिषयमा छलफल गरेको छ ।
धेरै सरकारी कार्यालयहरु रहेको सो वडाको ववरमहल क्षेत्रमा सवारी पार्किङ्को ठूलो चाप रहेको तर उचित पार्किंग स्थल नभएको अवस्थमा प्रबिधिको उपयोग नगर्ने हो भने सहर झन झन बिग्रिँदै जाने वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारलेबताएका छन।
काठमाडौंको पार्किङ् व्यवस्थापनमा प्रबिधिजन्य साझेदारिता गर्ने प्रस्ताव लिएर धेरैजना आएको तर ल्याइएका प्रस्ताव कार्यान्वयनमा नआउनुको कारण खोज्नु पर्ने भन्दै तण्डुकारले पार्किंग समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताएका थिए ।
उक्त छलफलमा बोल्दै प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले प्रदेशबाट संसदको बजेटलाई पार्किंग लगाउन पाउने व्यवस्था भएछ भने भर्टिकल रोटेड पार्किङ् निर्माण गराउने प्रतिवदत्ता व्यक्त गर्दै पार्किङ् प्रणालीसँग स्थानीय सरकारको काम गर्ने क्षमता जोडिएकाले नीति निर्माण गर्दा जनप्रतिनिधिले यसलाई महत्व दिनुपर्ने बताएका थिए।
छलफलमा वी बिल्ड कन्स्ट्रक्सनकातर्फबाट प्रबन्ध निर्देशक स्वीकृति शर्माले काठमाडौंमा बढ्दो सवारी चाप र यसको सहरी व्यवस्थापनमा पर्ने पार्किङ् भार घटाउन प्रबिधिमा नगई सुखै नभएको तर्क राख्दै १२ वटा कार राख्न मिल्ने प्रबिधि जडान गर्न ६ मिटर चौडाई र ७ मिटर लम्बाई भएको जमिन भए पुग्ने जानकारी गराएकी थिइन्।
स्टिल स्क्ट्रक्चरमा बनाइने पार्किङ्का लागि आवश्यक सामाग्री बनिबनाउ हुने भएकाले निर्माण थालिएको ७ दिनदेखि १० दिनभित्र सञ्चालनमा ल्याउृन सकिने सो पार्किंगको लागत प्रतिकार ८ हजार ५ सय अमेरिकी डलर रहेको छ। फोटो सौजन्य : काठमाडौं अनलाइन