राखेप सदस्यसचिव पदका लागि धुर्वराज न्यौपानेले निवेदन दर्ता गराए
कपन अनलाइन
काठमाडौं ,साउन १।
काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष धुर्वराज न्यौपानेले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यसचिव पदका लागि निवेदन दर्ता गरेका छन् ।खेलकुद विकास ऐन २०७७ लागु भएसँगैनेपाल कुराँश संघका अध्यक्ष न्यौपानेले राखेप सदस्यसचिव पदका लागि निवेदन दर्ता गरेका हुन् ।
न्यौपानेले पहिलोपटक यसरी लोकतान्त्रिक पद्धतीबाट खेलकुदको सर्वोच्च निकाय राखेपको सदस्य सचिव पदका लागि खुला प्रतिस्पर्धा हुनु राम्रो संकेत भएको बताउदै स्वतन्त्र रुपमा माँगिएको निवेदन बाट स्वस्थ रुपमा सदस्य सचिव छनौट गरिए नेपालको खेलकुद क्षेत्र प्रभावकारी रुपमा विकास हुने बताएका छन।
नयाँ खेलकुद ऐनले सबैलाई मिलेर अघि बढ्न आग्रह गरेकोले आफू सदस्य सचिवमा निवेदन दिएको बताउदै उनले आफु सदस्य सचिवमा नियुक्त भए खेलकुदमा बिताएको १४ वर्षको अनुभव र भोगाईका आधारमा योजना बनाएर परिणाम मुखी काम गर्ने विस्वास व्यक्त गरेका छन।
न्यौपाने औपचारिक रुपमा २०६४ सालमा तत्कालिन कपन गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षको रुपमा खेलकुद क्षेत्रमा प्रवेश गरेर २०७४ देखि २०७६ सम्म काठमाण्डौ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको रुपमा खेलकुदको क्षेत्रमा सेवा गरिसकेका छन ।
काठमाण्डौ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको रुपमा पूर्वाधार विकास ,खेलाडी र प्रशिक्षकहरुको पेशागत विकास र नियमित प्रतियोगिता आयोजनामा उल्लेखनीय काम गरेका न्यौपानेले बिहिबार दिउँसो सदस्य सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
हाल न्यौपाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य हुन् ।