प्राविधिकको पावर : १० प्राविधिकद्वारा २६ करोडभन्दा बढी अकुत आर्जन
कपन अनलाइन
काठमाडौं ,साउन १
प्राविधिक कर्मचारीको भूमिका र जिम्मेवारी हुन्छ नाप, नक्सा तयार गर्ने । तर, नाप्नुपर्ने कुरा छाडेर अन्यत्रै (द्रव्य) नाप्न खोज्दा एक महिनामै १० भन्दा बढी प्राविधिक कर्मचारी अकुत आर्जनमा डामिएका छन् ।
यी कर्मचारीविरुद्ध २६ करोडभन्दा बढी अकुत आर्जन (स्रोत देखाउन नसकेको) चार्ज लगाउँदै अख्तियारले मुद्दा दायर गरेको छ । अघिल्लो महिना भक्तपुरका एक सर्भेयरविरुद्ध मुद्दा दर्ज गरियो । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका नेता राजेन्द्र काफ्ले ५ करोड ४३ लाख २७ हजार बराबरको अकुत आर्जनमा डामिए ।
यस्तै, सडक विभागअन्तर्गत हाल मध्यपहाडी पश्चिम लोकमार्ग सडक आयोजना तुल्सीपुरमा कार्यरत सिनियर डिभिजनल इञ्जिनियर जितेन्द्र शाक्य १ सय ५ वटा नक्कली कोटेसन बनाई भ्रष्टाचार गरेको अभियोगमा परे ।
उनीविरुद्ध २ करोड २५ लाख चार लाख १० हजार असुलेको आरोप छ । यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभाग क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जका सिनियर डिभिजनल इञ्जिनियर पूर्णप्रसाद उपाध्याय ३ करोड १० लाख २७ हजार १५३ अकुत आर्जनमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागका तत्कालीन सुपरिन्टेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादव १ करोड ८५ लाख ११ हजार ७२८ को सम्पत्ति स्रोत देखाउन नसकेपछि डामिएका छन् ।
सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाटका इञ्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४८० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको चार्ज लागेको छ भने खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरीका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्यविरुद्ध १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको अभियोग छ ।
मंगलबार मात्र डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठ ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ९ लाख घुस लिँदालिँदै अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । यसरी अकुत आर्जनको अभियोग लागेका कर्मचारीले पनि चन्द्रमानलेझैं सफाइ पाउँछन् कि अभियोग पुष्टि हुन्छ ? त्योचाहिँ हेर्न बाँकी नै छ । सामाचार साभार :जनआस्था साप्ताहिक