लिखु गाउँपालिकाका अध्यक्ष माथि हातपात गर्ने १३ जना पक्राउ

लिखु गाउँपालिकाका अध्यक्ष माथि हातपात गर्ने १३ जना पक्राउ

कपन अनलाइन

ओखलढुंगा ,साउन १।

लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु सोही गाउँपालिका वडा नं ४ का ३१ वर्षीय दीपक बस्नेत, ३२ वर्षीया भारती मगर, २२ वर्षीया निर्मला थापा, २२ वर्षीया दीपक थापा, २२ वर्षीय दीपेन्द्र खड्का, २० वर्षीय विश्वास खत्री, २७ वर्षीय पारस खड्का, २७ वर्षीय अरुण कार्की, ३० वर्षीय दलबहादुर थापा, २७ वर्षीय निलबहादुर कार्की, २० वर्षीय राजु कार्की, २४ वर्षीय लक्ष्मण कार्की र २१ वर्षीय दीपराज खड्का रहेका छन  ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले हिजो पक्राउ गरी ओखलढुंगा सदरमुकाम ल्याएको छ । लिखु  गाउँपालिका गाउँ कार्यपालिका सदस्य मावर सुनुवारले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

गएको असार ११ गते भएको लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको विषय र स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद बढेको थियो ।एम्बुलेन्स दुर्घटनाको विषयमा ४ दिनपछि गाउँपालिकाले दुख व्यक्त गर्दै समवेदना पत्र सार्वजनिक गरेको थियो ।

यद्यपि घटनालगत्तै नेकपाको लिखु गाउँपालिका कमिटीले प्रेस विज्ञप्ति निकालेर घटनाको भर्त्सना गरेको थियो । कमिटीले निकालेको विज्ञप्तिमा लिखु गाउँपालिकाको कार्यकक्षमा नियमित कार्यक चलिरहेको बेला हातमा बाँसका भाटा तथा फलामे रड लिई पालिकाको गेट तोड्दै, कुर्सी भाँच्दै, सिसाको झ्याल फुटाउँदै पालिका अध्यक्ष गोविन्दबहादुर पौडेल, अन्य जनप्रतिनिधिहरु, कर्मचारीवर्गहरु समेतलाई त्रसित बनाइ कानुन हातमा लिइ हातपात, लछारपछार तथा कुटपिट गरी अराजक शैलीमा र कानुनी राज्यको बर्खीलाप गर्ने गतिविधि देखाएको प्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।फोटो सौजन्य :ओखलढुंगा खबर

तपाइँको प्रतिक्रिया ।