ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका ५ का एक २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाबाट विभिन्न २१ जनाको पिसिआर परीक्षणका लागि पठाईएकोमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।संक्रमण देखिएका युवा केही दिन अघि साउदीबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।
सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्दराम तामाङका अनुसार मुलखर्क ठेगाना भएपनि विदेशबाट लकडाउनको समयमा उद्धार गरेर ल्याईएका ति युवा गाउँ पुगिसकेका थिएनन् । होल्डीङ सेन्टर हुँदै क्वारेन्टाइनमा बसेकाले उनमा देखिएको संक्रमणले गाउँमा त्रसित हुनुपर्ने अवस्था नरहेको बताउदै सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।
मंगलबार थपिएका १ सहित ओखलढुंगामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । उनिहरु मध्ये १ युवा निको भएर घर फर्किएका छन् भने ३ जना ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत छन् । अर्का एक ७२ वर्षिय पुरुषलाई भने लिखु गाउँपालिका स्थित उनकै घरमा राखिएको छ ।