पूर्वाधार विकास र रोजगारमुखी कार्यक्रम छैटौ नगर सभाको प्राथमिकतामा :उद्दव खरेल

पूर्वाधार विकास र रोजगारमुखी कार्यक्रम छैटौ नगर सभाको प्राथमिकतामा :उद्दव खरेल

कपन अनलाइन 

काठमाडौं ,असार २५।

बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभा सम्पन्न भएको छ। सो  छैटौ नगर सभाले नगरपालिकामा भौतिक पूर्वाधार निर्माण,स्वास्थ्य सेवा तथा रोजगारमुखी उधमशिलतालाई प्राथमिकता राखेको छ।

एक अर्ब  ६७ करोडको बजेट पारित गरेको  बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभाले यस वर्ष भौतिक पूर्वाधार निर्माण र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको नगर प्रमुख उद्दव प्रसाद खरेलले कपन अनलाइनलाई बताएका छन।

बुढानिलकण्ठ नगर अस्पताल निर्माण शुरु भैसकेको जानकारी दिदै नगरप्रमुख खरेलले खोज, अनुसन्धान र साहित्य साधना केन्द्रका रुपमा स्थापना गर्न लागिएको सृजना ग्राम निर्माण पनि यसै वर्ष शुरु गरिने बताएका छन।

नगरपालिकाको नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको साइकल ट्रेल, पदयात्रा मार्ग र  कपन ह्यान्डबल र धनेश्वर खेल मैदानको विस्तार तथा विकासको योजना शुरु गरिएको बताउदै प्रमुख खरेलले निर्माणाधीन पार्कहरु यसै वर्ष सम्पन्न गरि नयाँ स्थानमा पार्क निर्माणका लागि वडाहरु संग योजना मागिएको जानकारी दिएका छन।

त्यस्तै यस वर्ष भित्र जग्गा व्यवस्थापन भएर डीपीआर तयार भएका चार वटा वडाहरुको कार्यालय भवन निर्माण शुरु गरिने जानकारी दिदै नगरप्रमुख खरेलले कपन क्षेत्रको डुवान समस्या समाधानका लागि बिज्ञ, इन्जिनियर तथा सरोकारवाला निकायको सहभागितमा बृहत प्राविधिक अध्यनन गरि समस्या समाधानको प्रयास शुरु गरिएको बताएका छन।

नगरपालिकाका वडा नं १० र १३ मा स्थायी क्वारेन्टाइन स्थलको निर्माण शुरु भैसकेको र नगर चक्रपथका विभिन्न खण्डमा सडक विस्तार र निर्माण चलिरहेको बताउदै प्रमुख खरेलले नगर बसपार्क निर्माणका लागि उपयुक्त स्थानको खोजि भैरहेको र चाडै निर्माण गर्ने बताएका छन।

छैटौ नगर सभाले शिपमुलक र उत्पादनमुखी कार्यक्रम तय गरेर सामुहिक उत्पादन र उधमशीलता प्रवर्धनलाई अभियानका रुपमा संचालन गर्ने योजना ल्याएको जानकारी दिदै नगर प्रमुख खरेलले आगामी समयमा नगरपालिकाले रोजगारमुखी कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।