कोन्ज्योसोम गाउँपालिका ललितपुरका इन्जिनियर र उपभोक्ता समिति उपर मुद्दा दायर

कोन्ज्योसोम गाउँपालिका ललितपुरका  इन्जिनियर र उपभोक्ता समिति उपर मुद्दा दायर

कपन अनलाइन

काठमाडौं ,असार २२।

ललितपुरको  कोन्ज्योसोम गाउँपालिका वडा नं ५  मा पर्ने बालेश्वरी मा.वि. ललितपुरको निर्माण गर्दा पटक-पटक रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

आयोगमा उजुरी पश्चात  अनुसन्धान हुँदा विद्यालय भवनको निर्माणको मुल आर.सी.सी. संरचनामध्ये भवनको पिलर, Tie Beam, र Plinth beam ढलान कार्यको Compressive Strength चेक गर्दा सम्झौतामा उल्लेख भए बमोजिमको Strength भन्दा न्यून पाइएकोले मुख्य निर्माण कार्य नै गुणस्तरहिन भएको पाइएको थियो ।

भवन निर्माणको लागि भुक्तानी भएको रु. १५,५७,९८२।– रकम हानिनोक्सानी भएको पुष्टी हुन आएकोले राष्ट्रसेवकको रुपमा रहेका कोन्ज्योसोम गाउँपालिकाका प्राविधिकहरु इन्जिनियर शिरोमणी ढकाल र सव-इन्जिनियर अशोक रोकायले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी उपभोक्ता समितिबाट भएको श्री बालेश्वरी मा.वि. कोन्ज्योसोम-५, भारदेउको विद्यालय भवनको गुणस्तरहीन निर्माणलाई निर्धारित गुणस्तरयुक्त तथा मापदण्डबमोजिम भएको भनी भुक्तानीको लागि सिरफारिस गरेको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुर गरेको प्रमाणित हुन आएको हुँदा निजहरु शिरोमणी ढकाल र अशोक रोकायलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु. १५,५७,९८२।– कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुर उपर हुन मागदाबी गरिएको छ।

साथै निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने श्री बालेश्वरी मा.वि. भवन निर्माण उपभोक्ता समिति, कोन्ज्योसोम-५ भारदेउ ललितपुरका अध्यक्ष मान बहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले उक्त उपभोक्ता समितिका अध्यक्ष मान बहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो रु. १५,५७,९८२।– कायम गरी सजाय हुन एवं ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।