राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध

राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध

कपन अनलाइन 

काठमाडौं ,असार ५।

सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ ।

सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरेको हो । रातिमा हुने हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ ।

त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।

गृहले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि भनेको छ । अत्यावश्यक कामबहाहेक आफू रहेको आवास/कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

तपाइँको प्रतिक्रिया ।