काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माण हुने

काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माण हुने

कपन अनलाइन

काठमाडौं ,असार ४।
काठमाडौँ  महानगरपालिकाको कार्यालय भवन यसै आर्थिक बर्षमा निर्माण कार्य शुरु हुने  भएको छ।काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा को स्वामित्वमा रहेको टेकु स्थित जग्गामा भवन निर्माण गर्ने उल्लेख गरेका छन ।

त्यस्तै  नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संघसंस्था एवं ब्यक्तिहरुको सहयोग र समन्वयमा  वडा नं ३२ तिनकुनेमा आधुनिक बुद्धपार्क निर्माण कार्य सुरु गर्ने सो नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै  स्थानीय मौलिकता झल्कने गरी घरको नयाँ निर्माण गर्न वा मोहडा परिवर्तन गर्न चाहनेहरुलाई आवश्यक मापदण्ड तयार गरी अनुदानको ब्यबस्था गर्ने कार्य सुरु गर्ने , हनुमानढोकादेखि स्वयम्भू जोड्ने सम्पदा मार्ग तथा सवारी साधनमुक्त क्षेत्रमा परेका पुराना वस्तीका निजी भवनलाई व्यावसायिक आर्ट ग्यालरी, कफी सप, पुस्तक पसल, होमस्टे वा पर्यटनसँग सम्बन्धित व्यवसाय गर्ने उद्देश्यले परम्परागत शैलीमा पूरै भवन पुनर्निर्माण वा जीर्णोद्वार गर्न चाहने घरधनीहरुलाई कार्यविधिको आधारमा थप सहुलियत कर्जाको प्रबन्ध जस्ता कुरालाई पनि  काठमाडौं महानगरपालिकाले  प्राथमिकतामा राखेको छ ।

त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार समेतको सहयोग एवं समन्वयमा बहुउद्देश्यीय अत्याधुनिक मेगा हल सभागृह निर्माण गर्न यसै वर्ष डिपिआर तयार गर्ने पनि महानगरपालिकाले लक्ष्य राखेको छ ।

काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि उपत्यकाछिर्ने नाकाहरुमा सम्वन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लीनिङ सेन्टर निर्माण गर्न विस्तृत अध्ययन गर्ने, काठमाडौंको स्वच्छता र महानगरवासीको जनस्वास्थ्यलाई ध्यानमा राखी बिद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने, काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सडक सुरक्षासंग सम्बन्धित पाँच रणनैतिक स्तम्भहरु (सडक सुरक्षा व्यबस्थापन, सुरक्षित सडक तथा गतिशिलता, सुरक्षित सवारी बाहन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पश्चातको प्रतिकार्य र कार्यवाही) मा आधारित मापदण्ड तयार गरी लागुगर्ने जस्ता कुरालाई पनि महानगरपालिकाले  प्राथमिकतामा राखेको छ ।

तपाइँको प्रतिक्रिया ।