नागार्जुन नगरपालिकाका प्राविधिक सहायक विरुद्ध अखियार द्वारा मुद्दा दायर
कपन अनलाइन
काठमाडौं ,असार ३ ।
नागार्जुन नगरपालिकाका प्राविधिक सहायक (ना.सु.) पदमा कार्यरत भुवन गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
नियुक्ति हुँदा एसएलसी वा सो सरहको शैक्षिक योग्यताको प्रमाण-पत्र झुठ्ठा एवं नक्कली पेश गरी रामकोट गा.वि.स. कार्यालय काठमाडौंमा सोही शैक्षिक प्रमाण-पत्रको आधारमा ना.सु. सरहको पदमा बढुवासमेत भई कार्यरत रही सरकारी लाभ लिई भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा उनि विरुद्ध मुद्दा दायर गरिएको हो ।
उनले नागार्जुन नगरपालिका कार्यालय, काठमाडौंमा प्राविधिक सहायक (चौथो तह) पदमा सेवा प्रवेश गर्नका लागि सोनाई पण्डित प्राथमिक सह माध्यमिक संस्कृत विद्यालय देवधा (मधुवनी) बाट मध्यमा पास गरेको उक्त प्रमाण-पत्र नक्कली झुठ्ठा पेश गरी प्राविधिक सहायक (चौथो तह) पदमा नियुक्ति पाएको र राष्ट्रसेवकको ओहोदामा वहाल रही निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिंदा निज भुवन गिरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको माग गरि विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।