किर्तिपुर नगरपालिका वडा नं ६ को भवन शिलान्यास

किर्तिपुर नगरपालिका वडा नं ६ को भवन  शिलान्यास

कपन अनलाइन

काठमाडौं, जेठ २१। कीर्तिपुर नगरपालिकाको वडा नं.६ को भवन निर्माण कार्यको शिलान्यास भएको छ ।जेठ १७ गते शनिबार वडा कार्यालय चोभारमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल र कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती रिजाल खड्काले सो वडा भवन निर्माणको संयुक्त रुपमा शिलान्यास गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जिससले काठमाडौं जिल्लामा भएका नगरपालिकाहरुमा प्रशासकीय भवन निर्माण र वडा कार्यालय भवन निर्माणका लागि आवश्यक सहयोग गरिरहेको बताएका थिए ।साथै उनले  तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका थिए ।

सो अवसरमा जिल्ला समन्वय समिति काठमाडौंकि  उपप्रमुख सरिता दाहालले विश्वभर महामारीको रुपमा रहेकोकोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण र राहत बितरणका लागि काठमाडौंका सबै पालिकाहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउदै कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिने एकमात्र उपाय लकडाउन भएकोले लकडाउनको पूर्ण रुपमा पालना गरी सुरक्षित साथ बस्न काठमाडौं जिल्लाबासीलाई आग्रह गरेकी थिइन् ।कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती रिजाल खड्काले वडाको भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने बताउदै नगरपालिकाले भवन निर्माण हुन बाँकी रहेका वडाहरुको पनि भवन निर्माणका लागि प्रयास गरिरहेको बताएका थिए ।

कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष न्हूच्छे बहादुर महर्जन र वडा सदस्य सुनिल डंगोलले भवन निर्माणका लागि सहयोग गरेकोमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र उपप्रमुख सरिता दाहाललाई धन्यवाद् दिदै तोकिएकै समयमा वडाको भवन निर्माण कार्य सम्पन्न गरिने बताएका थिए । २ करोड ५५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो वडा भवन आगामी ८ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गरिने वडा अध्यक्ष न्हूच्छे बहादुर महर्जनले जानकारी गराए ।कूल लागत मध्ये ६० प्रतिशत जिल्ला समन्वय समिति काठमाडौं र ४० प्रतिशत खर्च कीर्तिपुर नगरपालिकाले उपलब्ध गराउने भएको  छ ।

फोटो :स्थानीय सरोकार

तपाइँको प्रतिक्रिया ।