शंखरापुर नगरपालिकामा दोस्रो चरणमा एक घर एक जनाको आर डी टि परिक्षण गर्ने योजना रहेको छ : नगर प्रमुख सुवर्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौं जेठ ७ । शंखरापुर नगरपालिका भित्र बिहान ६ बजे देखि १० बजे सम्म मात्र खाद्यान्न, तरकारी लगायत अति आवश्यक पसलहरू खोल्न पाइने भएको छ र उक्त समय बाहेक अन्य समयमा अटेर गरी पसल खोलेमा पहिलो पटक रू १ हजार, दोश्रो पटक रू ३ हजार र तेश्रो पटक रू ५ हजार सम्म जरिवाना गर्ने निर्णय नगरपालिकाको बोर्ड बैठकले गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए।त्यसै गरि होटल, चिया पसल, रेष्टुरेन्ट,मासु पसल, भट्टि पसलहरू लकडाउन अवधी भर पुर्ण रूपमा बन्द गर्ने निर्णय गर्नुको साथै औषधी पसल भने २४ सै घण्टा खोल्न पाउने निर्णय गरिएको जानकारी गराए ।
लकडाउनको पूर्ण पालना गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गर्दै नगर प्रमुख सुवर्ण श्रेष्ठले अति आवश्यक काममा घर बाहिर निस्कन परे एक घर एक पासको ब्यवस्था वडा मार्फत गरिएको जानकारी गराए । कोरोना संक्रमित जिल्लाका बासिन्दाहरू शंखरापुर नगरपालिका भित्र आएमा तुरून्तै वडा वा नगरपालिका अथवा प्रहरी कार्यालयमा खबर गर्न र ति जिल्ला बाट आएका श्रमिकहरूको हकमा पि.सि.आर टेस्टको प्रमाण पत्र अनिवार्य पेश गर्नुपर्ने पनि जानकारी गराए ।
यदि कोहि संक्रमित जिल्लाबाट आएका ब्यक्तिहरू भेटिएमा घर सिल गरिने र १४ दिन क्वारेन्टाइनमा राखिने यदपि क्वारेन्टाइन अवधि भरको खर्च सम्बन्धित ब्यक्तिले ब्यहोर्नु पर्ने पनि बताए । क्वारेन्टाइमा बसेको १४ दिनमा आर डी टि टेस्ट गरिने र संक्रमित ब्यक्तिहरूलाइ कुनै घर धनीले संरक्षित गरेको पाइएमा परिक्षण र क्वारेन्टाइनको खर्च घर धनीले तिर्नु पर्ने उनले जानकारी गराए ।त्यसै गरि लकडाउनको समयमा अग्र भागमा खटिएका जनप्रतिनिधि, कर्मचारीहरू र स्वास्थ्यकर्मीहरूको पनि आर डी टी परिक्षण गरिने र दोस्रो चरण चरणमा एक घर एक जनाको आर डी टि परिक्षण गर्ने योजना रहेको पनि नगर प्रमुख श्रेष्ठले जानकारी गराए ।