आजको मान्छे ! (कविता)
कपन अनलाइन
काठमाडौं ,बैशाख २७/ मिसन अधिकारी
उहिले उहिले यो गोल भूगोलमा
थियो– सिंगो मानव
थियो– सिंगो मानिस
थियो– सिंगो इश्वर मान्छे स्वयम् ।
अहिले यो गोल भूगोलमा
मान्छे, विभक्त छ शीर र पैतालाहरूमा
मान्छे, विभक्त छ दाँया–बाँयाहातहरूमा
मान्छे, विभक्त छ काँध र पेटहरूमा ।
नाँक, कान, आँखा, मुख
के–केमा विभक्त छैन मान्छे ?
हाड, छाला, मासु, मन, मष्तिष्क
के–केमा विभक्त छैन मान्छे ?
प्रेम, यौन, बास, सहवास
के–केमा विभक्त छैन मान्छे ?
आफ्नै यौटा अङ्ग विरुद्ध लड्छ मान्छे
हरपल–हरपल लडाईं प्राप्तिको
हारमा पनि हार्छ, जितमापनि हार्छ
अहिले यो गोल भूगोलमा
मान्छे मात्र छ, ‘मान्छे’ छैन !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।