पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल द्वारा कागेश्वरी मनोहरा नगरपालिकालाइ पीपीइ प्रदान

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल द्वारा  कागेश्वरी मनोहरा नगरपालिकालाइ पीपीइ प्रदान

कपन अनलाइन

काठमाडौँ बैशाख २४। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कागेश्वरी मनोहरा नगरपालिकालाइ  २५ सेट पिपिई प्रदान गरेका छन ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारस्थित मदन आश्रित प्राविधिक शिक्षालयमा  मंगलबार आयोजित कार्यक्रममा पूर्व पूधानमन्त्री नेपालले सो पिपिई सेट हस्तान्तरण गरेका हुन्  ।

पी पी इ हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई उपचारमा सहज होस् भनेर पिपिई सेट प्रदान गरेको बताए। उनले  काठमाडौं क्षेत्र नं. २ मा पर्ने हरेक समस्याको समाधानका लागि आफूले पहल गरिरहेको बताउदै विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र राहतका क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिकाले गरेका कार्यहरुको प्रशंशा गर्दै प्रधानमन्त्री नेपालले लकडाउनको पूर्ण रुपमा पालना गरी सामाजिक दुरी कायम गरी सुरक्षित बस्न नगरबासीहरुलाई आग्रह गरेका थिए।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाईले वडाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका साथै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएको बताउदै दैनिक २ हजार ५ सय जति बिपन्न नागरिकहरुलाई खाना खुवाउने कार्य गरिरहेको बताए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले पिपिई सेट उपलब्ध गराएकोमा पूर्व प्रधानमन्त्री नेपाललाई धन्यवाद दिदै नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र राहतको क्षेत्रमा अहोरात्र खटेर कार्य गरिरहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटिका सदस्य एवम् नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहराका अध्यक्ष रुद्र प्रसाद चापागाई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कागेश्वरी मनोहरा ७ नं. वडा कमिटिका अध्यक्ष अमरचन्द्र बाहोरा लगायतले नेकपाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा राहत बितरणको क्षेत्रमा सक्रिय भएर कार्य गरिरहेको बताउदै नेकपाले नगरपालिकासंग समन्वय गरेर कोही पनि बिपन्न नागरिकलाई भोकै नराख्ने उद्देश्यका साथ कार्य गरिरहेको बताए ।

कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइराला, जिन्सी शाखा प्रमुख रामेश्वर दाहाल लगायतले नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सक्दो पहल गरिरहेको बताउदै नगरपालिकाका सबै कर्मचारीहरु कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सक्रिय भएर लागेको  बताए ।

तपाइँको प्रतिक्रिया ।