गोकर्णको कान्ति भैरब जात्रा स्थगित हुने
कपन अनलाइन
काठमाडौं बैशाख १०। परापुर्बकाल देखी चलिआएको गोकर्णको कान्ति भैरब जात्रा यस बर्ष नहुने भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बैशाख १० गतेदेखि शुरु हुने भनिएको उक्त जात्रा विश्वभरी फैलिएको कोरोना भाइरस र यसले ल्याउन सक्ने महामारीलाई ध्यानमा राखी सरकारले गरेको लकडाउनको कारण स्थगित गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ ले बताए ।
कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण फैलिन नदिन र यसको रोकथाम नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालना गर्नु हुन अनुरोध गर्दै उनले नित्य पुजा र गुठीको पुजा मात्र हुने र बाँकी कुनै पनि व्यक्तिगत पुजाहरु नहुने भएकोले यस वर्ष सबैले आ आफ्नो घर बाटै धुप बत्ति दिन पनि अनुरोध गरेका छन।
कोरोना भाइरस बारे सचेत हुनु जरुरी भएको र नेपालमा संक्रमितको संख्या बढी हुँदै गएको अबस्थामा जात्रा गर्नु उपयुक्त नहुने बताए । उनले अन्यत्रको जात्राहरु पनि धमाधम स्थगित भएको र वडा बासीको स्वास्थ्यलाई समेत ख्याल राख्नको लागि पनि यस्तो विषम परिस्थितिमा कुनै जोखिम लिन नहुने बताए ।उनले विषम परिस्थितिलाइ बेवास्ता गरि घर बाहिर निस्की हुल हुज्जत गरि कानुनको उलंघन गरेमा कानुन अनुसार कारवाही हुने पनि जानकारी गराए ।