मोलुंग गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाए
कपन अनलाइन
काठमाडौं ,बैशाख १०।
ओखलढुंगाको मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । कोरोनाको कहरकाबेला समेत गाउँपालिकाको काममा असहयोग गरेको भन्दै अध्यक्ष राईले प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको कार्यकक्षमा मंगलबार ताला लगाएका हुन् ।
के भन्छन् अध्यक्ष राई ?
स्थानीय सरकारले बढी भूमिका खेल्नुपर्ने समयमा बिना जानकारी लामो समय कार्यालय नआएका प्रशासकीय अधिकृत श्रेष्ठ मंगलबार आएकाले उनलाई कार्यकक्षमा पस्न नदिई ताला लगाईदिएको अध्यक्ष राईले स्विकार गरेका छन् । ‘उहाँले सुरु देखि नै काममा असहयोग गर्दै आउनु भएको थियो ।
झन कोरोनाको कहर बढेका बेला बिना जानकारी लामो समय हराउनुभयो, यस्ता काम नगर्ने गैरजिम्मेवार कर्मचारीलाई फेरि किन स्वागत गर्ने भनेर ताला लगाएको हुँ ।’
अध्यक्ष राईले भने, ‘यस्तो बेलामा लामो समय सम्पर्क बिहिन भएपछि उहाँको काज फिर्ता गरेर अर्को प्रशासकीय पठाउन मन्त्रालयमा पत्र पठाईसकेको छु । काज फिर्ताको चिठी नै पठाईसकेका कर्मचारीलाई फेरि हाजिर गर्न दिने कुरा भएन ।’
अध्यक्ष राईले विगतमा काम सन्तोषजनक नभएको र काजफिर्ताको पत्र पठाईसकेपछि थप गैरजिम्मेवार काम हुनबाट बचाउन कार्यकक्षमा ताला लगाएको तर्क गरेका छन् । चैत्र २८ गते देखि कार्यालयमा नआएका अधिकृत श्रेष्ठको काज फिर्ता गराएर अर्को अधिकृत पठाउन आग्रह गर्दै गाउँपालिकाले वैशाख ७ गते नै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाईसकेको छ ।
के भन्छन् प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ ?
प्रशासकीय अधिकृत श्रेष्ठले भने आफु १ साता घर पुगेर आएपछि अध्यक्षले कार्यकक्षमा ताला लगाएर काम गर्न नदिएको बताएका छन् । ‘म नयाँ वर्षको अघिल्लो दिन घर गएर आएँ । आज अफिस गएको अध्यक्षले मेरो कार्यकक्षमा ताला झुण्डाईदिनु भो ।’ श्रेष्ठले भने, ‘म घरतिर गएँ त्यसैले मैले यो बेला काम गरेको छुइँन । मलाई पहिल्यै जान भनिएको थियो ।
लकडाउनका कारण मोलुङमै बसिरहेको हुँ ।’ कागजात नपुगेका योजनाको रकम भुक्तानी दिन अध्यक्षले दवाव दिएपछि सुरु देखिनै विवाद भएको उनको भनाई छ ।
स्रोतका अनुसार कोरोनाको संक्रमण रोक्न स्वास्थ्यकर्मी लागि सुरक्षा सामाग्री र स्वास्थ्य संस्थाहरुका लागि आवश्यक औषधी खरिद गर्ने विषयमा पनि अधिकृत श्रेष्ठले असहमती जनाएका थिए । उनले योजनाको रकम भुक्तानी लिन आएका उपभोक्ता समितिलाई दुःख दिएको गुनासो बढेपछि अध्यक्ष राईले सेवा प्रवाह सरल बनाउन भनेका थिए ।
गाउँसभाले बजेट बिनियोजन गरेका शिर्षकमा पेश्कि दिन नमानेको, कार्यालय सञ्चालनका लागि समेत बजेट निकासा गर्न नमानेको, कोरोनाको संक्रमण रोक्न गाउँपालिकाले खर्च गर्नुपर्ने बजेट निकासा नगरेको, मौज्दात औषधी खरिदका लागि बजेट नदिएको लगायतका आरोप अधिकृत श्रेष्ठ माथि लागेको छ ।
कोरोना विरुद्धको अभियान सञ्चालन गर्ने निर्णय भएपछि गाउँपालिकालाई असहयोग गदै प्रशासकीय अधिकृत सम्पर्कमा नहुँदा कार्यसम्पादनमा समस्या भएको मोलुुङ गाउँपालिका ८ का वडा अध्यक्ष हरिकुमार राईले बताए । उनका अनुसार अधिकृत श्रेष्ठ निमिक्तको जिम्मेवारी समेत कसैलाई नदिई हिँडेका थिए ।
उनका अनुसार प्रशासकीय अधिकृत नहुँदा माथिल्लो निकायसँग समन्वय र जनप्रतिनिधिका निर्णयहरुमा अरु कर्मचारीहरुले साथ दिईरहेका छन् । विभिन्न कारण देखाएर रकम भुक्तानीमा कडाई गर्ने श्रेष्ठले घुमाउरो पारामा उपभोक्ता समितिसँग रकम आश गर्ने गरेको एक उपभोक्ताले बताए ।
‘सिधै त पैसा मागेनन् कहिले यो भएन भनेको छ कहिले त्यो भएन भनेर खुब दुःख दिन्छन् सायद केही रकम आश गरेका होलान् ।’ नाम नबताउने सर्तमा उनले भने ।
‘यो हाकिम हुँदा सम्म सेवा लिन आउँदिन भनेर भुक्तानी लिन नै गएका छैनौं ।’ कर्मचारीले दुःख दिएपछि गाउँपालिका अध्यक्षसँग गुनासो गरेको उनले बताए । मोलुङमा गाउँसभाले विनियोजन गरेका अधिकांश योजनाहरुको बजेट निकासा भएको छैन । आर्थिकवर्ष सकिन लाग्दा सम्म मोलुङको पुँजीगत खर्च करिब ३५ प्रतिशत मात्रै छ ।