ईष्टपोल माध्यमिक विद्यालयले अनलाइन माध्यमबाट शिक्षण–सिकाइ क्रियाकलाप गर्ने
कपन अनलाइन
काठमाडौं ,बैशाख ९।
ईष्टपोल स्कूलले शुरु गर्यो अनलाइन कक्षा हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण वाट गत चैत्र ६ गते देखि वन्द रहेका देशभरिका विद्यालयहरूमा पढाइ ठप्प रहेको अवस्थामा काठमाडौका केहि विद्यालयहरुले अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने प्रयास गरेका छन। यसै क्रममा ईष्टपोल माध्यमिक विद्यालय गोकर्णेश्वरले पनि अनलाइन माध्यमबाट शिक्षण-सिकाइ क्रियाकलापलाई निरन्तरता दिने भएको छ ।
कोरोना महामारीका कारण सिर्जित बन्दाबन्दीको परिस्थितिमा पनि विद्यार्थीहरूको पठनपाठनलाई सुचारु राखी उनीहरूको सिकाइलाई नविनतम ढंगवाट प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।
यही अभियानको पूर्वतयारीस्वरूप विद्यालयले शिक्षकहरूलाई यसअघि नै फेस वुक मेसेन्जर ग्रुप र जुम मार्फत कक्षा सञ्चालनसम्बन्धी प्रशिक्षण दिइसकेको छ । त्यस्तै अनलाइन कक्षालाई प्रभावकारी बनाउन विद्यालयले प्रविधि–प्रयोगको प्रक्रिया र साप्ताहिक तथा मासिक शैक्षिक योजनाबारे विद्यार्थी र अभिभावकलाई समेत अनलाइन मार्फत प्रशिक्षण दिइरहेको छ ।
दैनिक समयतालिका नै निर्माण गरी विद्यालयले विषयगत शिक्षण प्रारम्भ गर्दैछ। पठनपाठनका नियमित क्रियाकलापहरू सञ्चालन गर्न विद्यालयले स्कुल एप, फेसबुक, भाइबर, जुम प्रविधि, लगायतका उपायहरू अवलम्बन गर्दे आएको छ ।
‘यिनै प्रविधिको उपयोग गरी विद्यार्थीहरू यो अनिश्चितकालीन अवधिभरि आफ्ना विषयगत शिक्षकहरूसँग नियमित सम्पर्कमा रहेर अस्पष्ट कुराहरूमा स्पष्ट हुन सक्नेछन। साथै कोराना महामारीको सङ्क्रमणले सिर्जना गरेको अनिश्चितताका कारण वार्षिक परीक्षाफल पनि प्रकाशन गर्न नसकिएको अवस्थामा अभिभावक र विद्यार्थीहरूको लामो समयदेखिको प्रतीक्षालाई सम्बोधन गर्दै विद्यालयले छिट्टै अनलाइन मार्फत नतिजा प्रकाशन गर्ने योजना बनाएको विद्यालयले जानकारी दिएको छ ।