चार ओटा मस्जिदहरुमा काठमाडौं महानगरको अनुगमन

चार ओटा मस्जिदहरुमा काठमाडौं महानगरको अनुगमन

कपन अनलाइन

काठमाडौं ,बैशाख ९।

जमातीहरु रहेको हुन सक्ने भन्ने आशंकामा आज काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल, नेपाल मुस्लिम संघका अध्यक्ष अव्दुल सतार लगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरेका हुन् ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

दुबै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बस्न सक्ने र उनीहरु कोरोना संक्रमित हुन सक्ने भन्दै विभिन्न सञ्चार माध्ययममा समाचार आइरहेका बेला मुस्लिम समूदायको सबै भन्दा बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज राजधानीका चार स्थानको अनुगमन गरेको र ती स्थानहरुको अवस्था सामान्य रहेको जानकारी दिए ।

‘वीरगञ्ज र उदयपुरका मस्जिदमा बसेका केहीमा कोरोना संक्रमण पुष्टि भएसँगै राजधानीका पनि विभिन्न मस्जिदमा जमातीहरु विना सूचना बसेका हुनसक्ने आशंकापछि आज रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरिएको छ,’ प्रमुख शाक्यले भने, ‘कतिपय सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अहिले पनि ती मस्जिदहरुमा नवाज पढ्ने काम निरन्तर भैरहेको भन्ने आशंकालाई मध्यनजर गर्दै हामीले अनुगमन गरेका हौँ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा मनाइने पाहाँचःहे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरूलाई मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्दै भीडभाडमा ती जात्रापर्व नमनाउन यस अघि नै अपिल गरेको जानकारी दिदैँ मस्जिदहरुमा पनि यो विषम परिस्थितिमा नवाज पढ्नेलगायतलाई स्थगन गर्न पहिल्यै आग्रह गरेको जानकारी दिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि उपत्यकामा सबै भन्दा बढी मुस्लिम समूदायको भिडभाड हुने चार मस्जिदको अनुगमन गरेको जानकारी दिए । ‘आज हामीले नेपालको सबै भन्दा ठूलो र पुरानो जामे मस्जिदसँगै अन्य तीन मस्जिदको अनुगमन गरेका छौँ,’ अध्यक्ष अन्सारीले भने, ‘विभिन्न सञ्चारमाध्ययममा समाचार आएपछि मुस्लिम आयोगले मेरो अध्यक्षतामा पूर्वमन्त्री, मानव अधिकार आयोगका सदस्य, धर्मगुरुलगायत रहेको सात सदस्यीय केन्द्रीय अनुगमन समिति बनाएको छ । त्यो समितिले निरन्तर अनुगमन गरिरहेको छ ।’

उनले अनुगमनकै लागि उपत्यकामा समेत समिति बनाएको र त्यसले पनि निरन्तर अनुगमन गरिरहेको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।