गाउँपालिका डुलेर मात्र कोरोना संग लड्न सकिदैन :अध्यक्ष रुद्र अधिकारी (सुनकोसी गाउँपालिका )

गाउँपालिका डुलेर मात्र कोरोना संग लड्न सकिदैन :अध्यक्ष रुद्र अधिकारी (सुनकोसी गाउँपालिका )

कपन अनलाइन

ओखलढुंगा ,चैत २०।

ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी स्वास्थ्य सामाग्री सहित गाउँ फर्किएका छन् । विश्वमा महामारीको रुप लिएर कोरोना भाइरस फैलिएको अवस्थामा गाउँमा नरहेका भनिएका अध्यक्ष अधिकारी काठमाण्डौबाट पिपिई, माक्स, औषधी सहितका सामाग्री लिएर विहिबार गाउँपालिका फर्किएका हुन् ।

अध्यक्ष अधिकारी संकटका समयमा गाउँमा नबसेको विषयमा नेकपा सुनकोशीका सचिव नबराज खड्काले बुधबार विज्ञप्ती जारी गरेका थिए । त्यस लगतै विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अधिकारी संकटको समयमा गाउँमा नबसेको समाचार आएका थिए ।
विहिबार भक्तपुरमा औषधी सहितका स्वास्थ्य सामाग्री लोड गर्दैगर्दा भटिएका अध्यक्ष अधिकारीले आफु जनताको काममा रहेकाबेला भ्रम छर्ने काम भएको आरोप लगाए ।

गाउँपालिकामा बसेर मात्रै कोरोनासँग लड्न सक्ने सम्भावना नभएकाले काठमाण्डौबाट पटक–पटक आवश्यक स्वास्थ्य सामाग्री पठाएर समन्वयको काम गरिरहेका बेला भ्रमपूर्ण समाचार सार्वजनिक भएको बताए ।

‘गाउँपालिकामा अध्यक्षको कुर्सीमा बसेर वा गाउँ डुलेर मात्रै कोरोनासँग लड्न सकिन्छ ? म काठमाण्डौ थिएँ अहिले जिल्ला जाँदैछु तर यहाँ बस्दा २ गाडी सामान यसअघि पठाएँ अहिले पनि लिएर जाँदैछु ।’

उनले  भने,‘मैले हेरेँ त्यो विज्ञप्ती र समाचारको तुक छैन । मेरो गाउँपालिकामा कुन कुराको कमि भयो त्यो भन्दिनुस् म पुरा गर्छु होइन भने जे मन लाग्छ त्यो लेखेर भ्रम नछरौं पत्रकार साथीहरुलाई म आग्रह गर्न चाहान्छु ।’

स्वास्थ्यमा देखिएकाे समस्या र पितृ कार्य श्राद्ध गर्नुपर्ने व्यवहारीक काम समेत परेकाले १ दिन बढी राजधानी बसेकाे उनले बताए ।  जिल्लाका सबै ८ स्थानीय तह मध्ये सबैभन्दा बढी सतर्कता र सजगताका काम सुनकोशीमा भईरहेको उनको दावी छ ।

गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी एक भएर कोरोना विरुद्धको सचेतनामा लागेको अध्यक्ष अधिकारीले बताए । विरोधको समय नभएकाले संकट समाधानमा एकजुट हुन गाउँबासी सबैलाई उनले आवह्नान गरेका छन् ।

राजधानीमा विभिन्न क्षेत्रका व्यक्तिसँग समन्वय गरेर माक्स, पिपिई, गाउँपालिकामा आवश्यक पर्ने औषधी सहितका सामाग्री उनले जम्मा गरेका छन् । सुनकोशीका सबै १० वटै वडाका स्थानीयलाई गाउँपालिका अध्यक्ष अधिकारीले लकडाउनको पालना गरेर संक्रमणबाट बच्न अपिल गरेका छन् ।साभार :भिजन एफ एम

तपाइँको प्रतिक्रिया ।