दैनिक ज्यालादारी र मजदुरी गर्नेलाई काठमाडौं महानगरको राहत :वडा कार्यालयलाई निर्देशन
कपन अनलाइन
काठमाडौं ,चैत १५।
काठमाडौं महानगरवासीको दैनिक जीवनयापनलाई सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ वटै वडालाई आग्रह गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको निर्देश अनुसार प्रशासन विभाग प्रमुख नमराज ढकालले ३२ वटै वडालाई पत्रलेखी आग्रह गर्नुभएको हो।
प्रशासन विभाग प्रमुख ढकालले हस्ताक्षर गरी ३२ वटै वडाध्यक्षलाई पत्राचार गरेको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फहोरमैला व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट सञ्चालन गर्न आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रुपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यत्रमा प्रहरी समेत सहयोग लिई सहजिकरण गर्ने उल्लेख छ ।
‘आफ्नो वडा अन्तरर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरबार बिहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै वडामा अति विपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोवास गर्दै आएका श्रमिक कामदारहरुको विवरण संकलन गरी महानगरको प्रशासन विभागमा बुझाउन अनुरोध गरिएको छ ।