टोखा नगरपालिकामा आइसोलेसन वार्ड स्थापना गरिने
कपन अनलाइन
काठमाडौं ,चैत ८।
कोरोना भाइरस (कोभिड–१९) को उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिकाले आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ । टोखा २ मा अवस्थित टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा तत्कालका लागि ५ वेडको आइसोलेसन वार्ड स्थापना गरिन लागिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन ।
टोखा नगरपालिका स्वास्थ्य शाखा र डाक्टरहरुसँगको छलफलबाट हालका लागि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा ५ वेडको आइसोलेसनको सञ्चालन गर्ने र पछि आवस्था हेरी वेड संख्या बढाउनुका साथै धापासी र गोंगबुमा पनि आइसोलेसन वार्ड विस्तार गरिने नगर प्रमुख अधिकारीले जानकारी दिए ।
नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि आगामी दिनहरुमा प्राथमिकताका आधारमा विशेष कार्यक्रम तथा व्यवस्थापनका कार्यहरु अगाडी बढाइने समेत उनले बताए ।
कोरोना सजगताका लागि टोखा नगरपालिका छिर्ने मुख्य नाका तथा सर्वसाधारणको बढि भीड हुने स्थानहरुमा वास सेन्टर निर्माण गरिने भएको छ । नगरपालिका, वडा र बजार क्षेत्रका साधारणका लागि हात धुने ठाउँ तयार गर्ने उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकि छन ।
टोखा नगरपालिका छिर्ने मुख्य नाकाहरु सामखुशी बसुन्धारा गोंगबु लगायत नगरका आवश्यक र सर्वसाधारणहरुलाई पायक पर्ने स्थानहरुमा एक हजार लिटरको ट्यांक जडित हात धुने ठाउँ वास सेन्टर राखिने उनले बताए ।
सचेतना र सजगताका कार्यक्रम
कोरोनाको सङ्क्रमण रोकथामका लागि कोरोनाबारे सचेतना र सजगताका सम्वन्धी पर्चा, पम्प्लेट छपाएर महिला स्वास्थ्य स्वयं सेविका मार्फत प्रत्येक वडाको घरघरमा वितरण गरिनुका साथै गाडिबाट म्याइकिन समेत गरिरहेको टोखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रण लाल कुलालले बताए ।
शाखा प्रमुख कुलालका अनुसार नगर भरिका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य स्वयमसेवीका, नगर तथा वडास्तरीय सचेतना कार्यक्रम समेत सम्पन्न भैसकेको छ भने नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारीमा टोखा नगरपालिका अगाडि बढिरहेको छ ।
कोरोना भाइसरको बारेमा सचेतना तथा सूचना दिने उद्देश्यले नगरपालिकाको मूख्य पाँच स्थानहरुमा सन्देशमुलक बोर्ड राखिएको छ । चैत्र ६ गतेदेखि हुनेभनिएको एसईई परिक्षाको पाँचवटा केन्द्रमा चिकित्सक सहितको हेल्थ डेक्सको तयारी समेत गरिएको शाखा प्रमुख कुलालले बताए । फोटो :न्युज अफ टोखा