खेलाडीलाई लक्षित गर्दै नेपाल ओलम्पिक कमिटि द्वारा चिकित्सक प्यानल गठन

खेलाडीलाई लक्षित गर्दै नेपाल ओलम्पिक कमिटि द्वारा चिकित्सक प्यानल गठन

कपन अनलाइन

काठमाडौं ,चैत ८।

नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यसबाट कसरी बच्ने भन्नेबारे शुक्रबार सचेतनात्मक कार्यक्रम आयोजना गरेको छ । यससँगै एनओसीले खेलाडीलाई लक्षित गर्दै विशेषज्ञ डाक्टरहरुको प्यानल समेत गठन गरेको छ ।

सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा अनुभवी डाक्टरहरुले कोरोना लाग्न नदिनको लागि सुरक्षा उपायबारे प्रकाश पारेका थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण डिभिजनका पुर्व निर्देशक तथा नेपाल स्वास्थ्य सेवा विभाग अन्तर्गतका डाक्टर बाबुराम मरासिनी, एनओसीका प्रमुख चिकित्सक डाक्टर सरोजकृष्ण श्रेष्ठ, पाटन अस्पतालका प्रोफेसर डक्टर नविस मान सिंह प्रधान, राखेपबाट डाक्टर राजु डंगोल, डाक्टर हेमन्त चन्द र नेपाल पुलिसको तर्फबाट डाक्टर पुनम पाठकको विशेषज्ञ डाक्टरको प्यानलले कोरोना भाइरस र रोकथामको उपायहरुको बारेमा व्याख्या गरेका थिए ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै एनओसीले डाक्टरको प्यानल बनाएको र यसबाट डोपिङबाट पनि बच्न सक्ने बताएको छ ।

यो डाक्टरका प्यानल खेलाडीहरुमा कुनै समस्या आएमा उनीहरुलाई सहयोग गर्न हर समय उपलब्ध हुने बताएका छन् ।

एक दिने सचेनात्मक कार्यक्रममा एनओसीका अध्यक्ष तथा सांसद श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठसँगै टोकियो ओलम्पिकलाई वाइल्ड कार्डको लागि प्रयास गरिरहेको २२ जनाको उपस्थिति रहेको थियो ।

एनओसीले यसपटक टोकियो ओलम्पिकमा विभिन्न खेलमा १५ खेलाडीलाई वाइल्ड कार्ड र र ७ पदाधिकारी पठाउने तयारी गरेको छ ।

पौडीबाट दुई र म्याराथनबाट १ खेलाडीले सहभागिता जनाउने पक्का भइसक्दा कराँते, आर्चरी, सुटिङ, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन र जुडोबाट खेलाडीको नाम वाइल्ड कार्डको लागि पठाइसकेको छ ।

टोकियो ओलम्पिक जापानमा २४ जुलाईदेखि ९ अगस्टसम्म आयोजना हुने तय छ । टोकियो ओलम्पिकमा ३३ खेल समावेश गर्ने तय भइसकेको छ । जसका लागि २०६ देशका ११ हजार ९१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।