पिछडिएको वडा नं. ९ लाई बजेट नै परेन, नयाँ बजेट चरम विवादमा
कपन अनलाइन०७० पौष २९
कपन गाविसले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७१७२ को बजेटमा कपनमा विकासको हिसाबले सबैभन्दा पछाडि रहेको वडा नं. ९ लाई प्रत्यक्षरुपमा एक पैसा पनि बजेट परेको छैन । बाटोघाटोलगायत बिभिन्न विषयमा पछाडि परेको वडा नं. ९ लाई बजेट नदिएपछि बजेट विनियोजनमा मनपरी भएको भन्ने आरोप लागेको विषय झनै गम्भीर बनेकोो छ । बजेट विनियोजनको शीर्षकमा वडा नं. ८ र ९ मा बाटो कालोपत्रे गर्ने शीर्षकमा बजेट देखिए पनि यो बजेट वडा नं. ८ बाट ९ वडासम्म पुग्न नसक्ने पक्का भएकोले यो वडावासीहरु आक्रोशित भएका हुन् । १० लाख छुट्याइएको यस शीर्षकको बजेटले वडा नं. ८ को पीपलबोटबाट वडा नं. ९ को सिमानासम्म पनि पिच गर्न नपुग्ने अवस्थामा वडा नं. ९ भनेर लेखिएकोमा वडा नागरीक मञ्चका संयोजक सुदर्शन के.सी.ले गम्भीर आपत्ति जनाए । यो बाटो आफ्नो वडा जाने मूल बाटो भए पनि यो बजेटले वडा नंं. ९ को भागमा पिच वा कुनै अरु कार्य हुने अवस्था नभएकोले के.सी.ले वडा नं. ९ वासीलाई सदैव कपन गाविसले हेपेको आरोप लगाए । वडा नागरीक मञ्चको संयोजकका हैसियतले आफ्नो वडाको विकासका लागि बिभिन्न शीर्षकमा उनले बजेट माग गरे पनि बजेट बाँडफाँड पूर्व आफूलाई एकपटक पनि सोधखोज नहुँदा उनी निराश पनि छन् । आफ्नो वडा को विकासका लागि उनले कतिपय सान्दर्भिक बजेट माग गरे पनि यो वडाको लागि भनेर एउटा शीर्षकमा पनि बजेट नपर्दा वडावासीलाई के जवाफ दिने भनेर उनी चिन्तित छन् ।
एकिकृत योजना तर्जूमा समितिको नाममा कोही पनि सरोकारवालासँग छलफल नगरी सिमित राजनीतिक व्यक्ति तथा कर्मचारीले मनोमानीरुपमा बजेट विनियोजन गरेपछि कपन गाविसको नयाँ बजेट यतिखेर चरम विवादमा परेको छ । कपन गाविसमा नयाँ सचिवको रुपमा भुवनेश्वर लामिछाने आए लगत्तै बजेटका कारणले उनी पनि विवादित बनेका छन् । कपनमा नै क्रियाशिल कतिपय राजनीतिक दलका कार्यकर्ता यो बजेट कर्मचारीले बनाएको बजेट भएकाले विवादित बन्न पुगेको बताइरहेका छन् ।