सांसद यज्ञराजको पहलमा १० वर्ष पछी सिरिसे पुलमा मोटर गुडयो
कपन अनलाइन
काठमाडौं ,फागुन १६।
ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसे पुलमा १० वर्ष पछि मोटर गुडेको छ। लामो समय पछि निर्माण शुरु भएर अलपत्र रहेको उक्त पुल ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारको निरन्तर पहलमा फागुन १५ गते देखी सवारी आवत जावत शुरु हुँदा स्थानीयहरुले उत्साह सहित स्वागत गरेका थिए ।
ओखलढुंगा जिल्लाको पश्चिम र उत्तरी भेगको विकासमा कोशेढुंगाको रूपमा रहेको सो पुल उद्घाटनमा सांसद सुनुवार संगै प्रदेश सभा सदस्य मोहन खड्का ,नेकपा नेता बालकृष्ण ढुंगेल, बाबुराम गौतम, लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल लगायत स्थानीय जनप्रतिनिधि तथा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यो पुलको अलपत्र अवस्था देख्दा दु:खद र पिडादायी नियति भोगेका जनताले सो पुलमा मोटर गुड्दा भव्य स्वागत गरेका थिए ।
अरु बेलाका सांसद र प्रतिनिधिहरु आएर केवल फोटो खिचाउदै पहल गरेको नौटन्की हेर्दा हेर्दा दिक्क बनेको तर सांसद सुनुवारले आफुले बोलेको कुरा ब्यवहारमा उतारेकोमा आफू निकै खुसी भएको एक स्थानीयले बताए ।
साथै उनले २०७० शालको निर्वाचनका वेलामा केहि महिनामै पुल निर्माण सम्पन्न गर्छु भनेर भोट मागेका सांसद कार्यकाल सकिदा समेत नआएको स्मरण गर्दै सबै किसिमका जालझेल परास्त गरेर पुल निर्माण सम्पन्न गरेको सांसद सुनुवारलाई धन्यवाद दिएका थिए।
यो पुलमा सवारी आवतजावत भए संगै आगामी दिनमा सो क्षेत्रमा ब्यापार र अन्य गतिविधिले फड्को मार्ने विस्वास अर्का स्थानीयको रहेको छ। लामो समय सम्म केवल आश्वासनको भारी बोकेका स्थानीयहरुले आफ्ना सांसद सुनुवारको अथक प्रयासको खुलेर प्रसंसा गरेका थिए ।
विभिन्न राजनितीक खिचातानी र ठेकेदारको चरम लापरबाहीले १० वर्ष सम्म निर्माण सम्पन्न हुन नसकेको उक्त पुल निर्माण सम्पन्न गर्नका लागि पटक पटक सांसद सुनुवार स्थलगत अनुगमनमा जादा खासै नपत्याएका जनता फागुन १५ गते मोटर लिएर सांसद पुग्दा आस्चर्य र खुसी दुबै देखिन्थे ।
केहि समय अगाडी भएको पोकली महोत्सवमा स्थानीय भोज बहादुर खड्काले आफु संग सो पुलको वारेमा व्यग्य मिश्रित प्रश्न राख्दा आफुले यहि फागुन महिनामा पुल संचालन गर्ने प्रतिवादत्ता व्यक्त गरेको स्मरण गर्दै सांसद सुनुवारले अवका दिनमा झुटको खेतीमा रमाउनेहरुलाई ओखलढुंगाका जनताले नपत्याउने प्रतिक्रिया दिएका छन।