फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव– २०७६ को तयारी पूरा

कपन अनलाइन

काठमाडौं, फागुन १५ । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ को हुने भएको छ ।

बुधबार आयोजक संस्था डिएआर मुभिज प्रा.लीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको  आयोजना गरेर यस्तो जानकारी दिएको हो ।
‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजक संस्थाको तर्फबाट संयोजक ढुंगानाले नै विज्ञप्ती वाचन गरेका थिए ।
पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, संचार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो । उनीहरुले उक्त महोत्सव भव्य रुपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाए । आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ । पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन भने डिजिटल मिडिया संयोजक राजु बोहराले गरेका थिए ।
उक्त महोत्सवको उद्घाटनमामा नेपाल सरकारका उप–प्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ । उक्त प्रतियोगितामा कुल ७४ टिम सहभागी रहने छन् ।
उक्त महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्यमा मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतिक क्षेत्रले विर्सिएको छ । त्यस्ता मौलिक काँठे गीत संगीतलाई प्रबद्र्धन गर्ने नै रहेको छ । त्यस्तै, नेपाल सरकारको योजना नेपाल भ्रमण वर्ष–२०२० को पवद्र्धन गर्ने, काँठ क्षेत्रमा रहेको ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवद्र्धन गर्ने, काँठ क्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकहरुको प्रस्तुतिका साथै विभिन्न मौलिक नृत्य सहितको साँस्कृतिक कार्यक्रम गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, कार्यक्रमस्थलमा निःशुल्क रुपमा धेरैभन्दा धेरै दर्शकलाई प्रवेश गराई काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष–भुषा, रहन–सहन, हस्तकाला, खान–पिन को बारेमा जानकारी गराई कार्यक्रमको अवलोकन गराईने र काँठ क्षेत्रका बहु चर्चित सयौंभन्दा बढि मौलिक काँठे लोक भाकाहरु छनोट गरि लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगि घोषण गर्ने पनि अन्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र १, अन्य पुरस्कारहरु, दोस्रो हुनेलाई नगद २ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, तेस्रो हुनेलाई नगद १ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, सान्त्वना पुरस्कार नगद ५० हजार प्रमाणपत्र १ अन्य पुरस्कारहरु, उत्कृष्ट गायकलाई नगद रु १० हजार र प्रमाणपत्र, उत्कृष्ट गायिकालाई पनि नगद रु १० हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।