गाउँ परिषद् भनेर झुक्यायो कपन गाविसले
कपन अनलाइन०७० पौष २८
पौष २७ गते गाउँ परिषद् भनेर कपनभरी हल्ला तथा पत्राचार गरेको कपन गाविसले २५ पौषमै बजेट पारित गरेर २७ गते सार्वजनिक गरेपछि कपनभरी असन्तुष्टि फैलिएको छ । हिजो २७ गते कपन ३ मा रहेको मिलनचोक पार्टी भेनुमा परिषद् भनेर एकत्रित भएर सरकारवालाहरुलाई निराश बनाउँदै कपन गाविसका सचिव तथा सर्वदलीयका प्रतिनिधिले पारित वार्षिक बजेटलाई सार्वजनिक गरेका थिए । बिहान ९ बजेबाट शुरु भएका सार्वजनिकिकरण कार्यक्रममा कपनका राजनीतिक दलका प्रमुखहरुले शुभकामना मन्तव्य नाममा फाल्तु(अर्थहिन) कुराहरु बोल्दै १२ बजेसम्म सर्वसाधारणलाई दिमाग खाएका थिए । २ दिन अघि सर्वदलीयसहितको एकिकृत योजना तर्जुमा समितिले पारित गरेको बजेटलाई २ दिनपछि आफैले सार्वजनिक गर्दा पनि घण्टौं आफैलाई शुभकामना दिँदै राजनीतिक दलका प्रतिनिधिहरुले निर्लज्जताको पराकाष्टा प्रस्तुत गरे । उपस्थित सर्वसाधरण तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले एक शब्द पनि बोल्ने अवसर दिइएन ।
लाजमर्दो कुरा त कतिपय दलहरुका प्रमुख स्वयंमलाई पनि गाउँ परिषद् कहिले हो भनेर पत्तो थिएन । एमाओवादी कपन अध्यक्ष शिव बजगाई आजै हो गाउँ परिषद् भन्दै थिए । वडा नागरिक मञ्च अधिकांश संयोजकहरुलाई पनि गाउँ परिषद् कहिले भएको पत्तो थिएन । एकिकृत योजना तर्जुमा समितिमा एकजना मात्रै वडा नागरिक मञ्चको प्रतिनिधि समावेश हुने क्रममा कपन वडा नं. ५ की भावना केसीलाई बाहेक कसैलाई पनि कहिले गाउँ परिषद् कहिले भयोे भन्ने विषय पत्तो थिएन । कपन गाविस तथा सर्वदलीयले बिभिन्न वडाहरुको योजना पास पूर्व वडा नागरिक मञ्चसँग एक शब्द पनि नसोधेको आरोप उनीहरुको थियो । वडा नं. २ र ९ का वडा नागरिक मञ्चका संयोजकहरु क्रमशः लक्ष्मण अधिकारी र सुदर्शन केसीले बजेट छनौट प्रकृयामा वडा नागरिक मञ्चलाई एक शब्द नसोधेकोमा रोष प्रकट गरे ।
एकिकृत योजना तर्जुमा समितिमा राजनीतिक दलहरुको प्रतिनिधित्व गर्दै जम्मा ३ जना व्यक्ति समावेश हुनु पर्नेमा नियम मिचेर ७ जना दलका प्रतिनिधिहरु समावेश भए पनि वडा नागरिक मञ्च वा अन्य सरोकारवालाहरुलाई स्थान नदिएकोमा पनि उपस्थितहरु क्रुद्ध देखिन्थे । ३ घण्टासम्म राजनीतिक दलहरुका प्रमुखहरुको अर्थहीन लम्ब्याइएका शुभकामना मन्तव्यका बीचमा कपन गाविसका नयाँ सचिव भुवनेश्वर लामिछानेले आर्थिक वर्ष ०७१ ७२ का लागि १ करोड ९६ लाखको बजेट प्रस्तुत गरेका थिए । हास्यास्पद कुरोचाहिँ एकिकृत योजना तर्जुमा समितिले प्रस्तुत गरेको बजेटमा उल्लेखयोग्य एकिकृत योजनानै थिएन ।
चिल्ड्रेन पार्क निर्माणजस्ता केही देखावटी भावनात्मक विषयमा बजेटलाई बराले पनि हाल भएका सार्वजनिक जग्गासमेत संरक्षण गर्न नसकेको कपन गाविसले थोरै बजेटमा चिल्ड्रेन पार्क बन्ला वा बनेजस्तो गरे पनि संरक्षण होला भन्ने विषयमा प्रश्नहरु उठिसकेका छन् । अत्यन्त भावनामा बहेर उठाइएका चिल्ड्रेन पार्कको कल्पना अघिल्लो वर्षको बजेटमा कपनमा सौर्य बत्ति जडान गर्ने भनेर छुट्याइएको रकम प्रयोग नभएको उदाहरणले कपन गाविसको कार्यान्वयन पक्ष बुझुन सकिन्छ । कार्यक्रममा स्थानीय विकास अधिकारीलाई प्रमुख अतिथि भनेर बोलाइएको थियो मञ्चभरी कपनमा राजनीति गर्ने दलहरुका २ दर्जनभन्दा बढि कार्यकर्तालाई साक्षी बनाएर राखिएको थियो । कार्यक्रममा पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी साक्षी बस्नका लागि उपस्थित भएनन् भने पूर्व गाविस अध्यक्ष आत्माराम पौडेलले कार्यक्रमप्रति असन्तुष्टि प्रकट गरेका थिए ।