आग्रह !
कपन अनलाइन
काठमाडौं ,फागुन ११। धर्मानन्द भट्ट/ कविता
फिर्ता ल्याउन लिम्पिया लिपु धुरा हाम्रा दुवै हातमा
हामी तीन करोड जानु छ त्यहाँ ढुङ्गामुडा साथमा ।
हाँस्दै लड्नु छ भीमसेनजसरी बिस्तारवादीसित
टिष्टा जित्नु छ काँकडा पनि जिते हुन्छिन् मुमा शोभित ।।१।।
गोर्खाली इतिहास जीवित छँदै हेप्छन् कसैले भने
जाऔँ मार्न खुलेर दुश्मन सबै हाँसेर मैले भने ।
डर्ने होइन, मर्न नै यदि परे त्यो भूमिमा नै मरौँ
बाँचुन्जेल सजीव पिल्लर बनी सीमा सुरक्षा गरौँ ।।२।।
सानो छस् कमजोर छस् गरिब छस् भन्ने नठान् भारत
हात्ती थिस् तर माउते पिठिउँमा देख्थेँ म बेलायत ।
सच्चा मित्र भए कुमाउ, गढवाल् छिट्टै मलाई बुझा
भोको बाघ बनी जनावर बुझी नेपाल आमा नखा ।।३।।
सक्छस् मित्र बनेर हिँड् तर नहिँड् बन्दै महादुश्मन
यस्तै चाल रहे अवश्य खतरा देख्दै छु त्यो जीवन ।
पर्दा दुःख सघाउने भुवनमा हाम्रा सयौँ मित्र छन्
आत्मैबाट फुली फली बढ उँभो भन्दै भलो सोच्दछन् ।।४।।
लड्ने नै यदि हो भने ह्रदयले निम्तो पठा यो घर
आफ्नै निर्णयमा मुमा तन कुनै कब्जा नगर् है तर ।
तेरो हर्कत विश्वले बुझिसक्यो बुझ्दै छ है ईश्वर
बुझ्दा ईश्वरले अधोगति हुने देखिन्न धेरै पर ।।५।।