पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

कपन अनलाइन  

काठमाडौँ , फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ। सोमबार जिल्ला अदालतले महरालाई सोमबार सफाइ दिएको हो।

संसद सचिवालयकी कर्मचारी माथि असोज १२ गते यौन दुर्व्यवहार गरेको अभियोग महरामाथि लागेको थियो। अभियोग लागेपछि उनी असोज १९ मा पक्राउ परेका  थिए ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको थियो ।

०७६असोज १९ गते आइतबार जिल्ला अदालत काठमाडौंबाट महरालाई पक्रन पक्राउ पुर्जी लिएसँगै प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो। उनलाई बा १८ च ४०० नम्बरको निजी रातो कारमा राखेर प्रहरीले लगेको थियो।

महरालाई पक्राउ गर्न अघि प्रहरीले  सरकारी वकिलसँग राय लिएको थियो। सरकारी वकिलले महरालाई नियन्त्रणमा लिएर बयान सुरू गर्न सुझाव दिएका थिए। महरालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्न प्रहरीले अदालतमा अनुमति मागेको थियो।

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले  निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। शाहीको उजुरी पछि प्रहरीले असोज १९ गते आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्राउ गरेको थियो।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्। प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई उक्त आरोपमा सफाइ ठहर्ने फैसला सुनाएको छ। जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महरामाथि आराेपितले लगाएकाे आराेपकाे प्रमाण नपुगेकाेले सफाइ दिइएकाे बताए।

तपाइँको प्रतिक्रिया ।