समृद्धिलाई टेक्सस–धन्यन्तरी फुटसल उपाधि

समृद्धिलाई टेक्सस–धन्यन्तरी फुटसल उपाधि

कपन अनलाइन

काठमाडौं, माघ २९  । समृद्धिले ‘टेक्सस–धन्यन्तरी कप’ अन्तरकलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको  छ ।
टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले केब्स ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो  । समृद्धिका आयुश घलान, दीपेश श्रेष्ठ र चन्दन दासले पेनाल्टी अवसरलाई सदुपयोग गरे । केब्स ‘ए’ बाट राज थोकर तामाङ र मुस्कान तामाङले गोल गरे । त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयको १९ सेकेन्डमै राज थोकर तामाङको गोलबाट केब्स ‘ए’ ले अग्रता लिएको थियो । छैटौं मिनेटमा समृद्धिका दीपेश श्रेष्ठले गोल फर्काउदै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।
उपाधिसंगै समृद्धिले १ लाख तथा केब्स ‘ए’ ले ५० हजार नगद पुरस्कार हात पारे । तेश्रो स्थानमा चित्त बुझाएको पशुपति बहुमुखी क्याम्पसले २५ हजार रुपैयाँमा चित्त बुझायो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा समृद्धिका दीपेश श्रेष्ठ उत्कृष्ट खेलाडी तथा केब्स ‘ए’ का पासाङ तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर १० गोल गरेका जेभियर इन्टरनेसनल कलेजका अमोद सुवेदी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य एवं एन्फा फुटसल कमिटीका संयोजक दावा लामा, टेक्ससका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, टेक्सस स्कुलका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १९ छात्र टिम सहभागी थिए ।
हाइली क्रिएटिभ क्वाटरफाइनलमा
हाइली क्रिएटिभ पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हाइलीले टाइमलाइनलाई २–१ गोलले पराजित गर्यो  । त्यस्तै नेपाल तारा र न्यु स्टार पोलले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल ताराले डिफेन्डिङ च्याम्पियन श्रमशील विद्यापीठलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । न्यु स्टारले एकलब्यमाथि २–० को जित दर्ता गर्यो  । न्यु स्टारका राजन आचार्य र मुस्कान तामाङले गोल गरे ।
अन्य खेलमा जित हात पार्दै आयोजक अर्किड र हाइल्यान्ड प्रिक्वाटरफाइनल पुगे । अर्किडले अक्षरिकालाई १–० गोलले पाखा लगाउदा श्रृजन कार्कीले निर्णायक गोल गरे । हाइल्यान्डले गेट्वे एकेडेमीलाई टाइब्रेकरमा ३–१ गोलले पन्छायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

तपाइँको प्रतिक्रिया ।