कपन संगीत सरोवरले संगीत साधक रामहरि गुरुङलाई सम्मान गर्यो

कपन अनलाइन०७० मंसिर २९
शास्त्रीय तथा भक्ति संगीतको क्षेत्रमा विगत सातवर्षदेखि नियमित सक्रिय रहेको कपन संगीत सरोवरले एक विशेष कार्यक्रम गरेर आफ्नो सातौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कपन गाविसअन्तर्गत वडा नं. २ स्थित प्रसिद्ध बगलामुखी मन्दिरमा आज आयोजित एक कार्यक्रममा वरिष्ठ संगीत साधक रामहरि गुरुङलाई रु. १०,००० नगदसहित सम्मान गरेर यस संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा शास्त्रीय तथा भक्ति संगीतको विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो ।

DSC_0839
वरिष्ठ गीतकार तथा कवि कालीप्रसाद रिजाल प्रमुख अतिथि रहेको कार्यक्रममा नवनिर्वाचि सभासद गगन थापा विशेष अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा वरिष्ठ तवलावादक अच्यूतराम भण्डारीले शास्त्रीय संगीतअन्तर्गत तबलावादन गरेका थिए शिवराज पौडेलले विशेष किसिमको शास्त्रीय गायन प्रस्तुत गरेका थिए । यसअघि भक्तिसंगीतअन्तर्गत वरिष्ठ गायिका ज्ञानु राणा तथा केशव पौडेलले आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व रामहरि गुरुङले पनि विशेष भक्तिसंगीतको कार्यक्रम प्रस्तुत गरेका थिए ।
हरेक महिना अन्तिम सनिवार कपनको बगलामुखी मन्दिरमा आयोजना हुने कपन संगीत सरोवरले सातौं वार्षिकोत्सवसहित आफ्नो तेस्रो साधारणसभा पनि सम्पन्न गरेको छ । यस साधारणसभाले कार्यसमितिमा केही फेरबदलसमेत गरेको छ । नयाँ कार्यसमितिमा विसुकुमार केसी अध्यक्षका साथमा संगीतकार विनय वर्मा र शशिविक्रम थापा उपाध्यक्ष चयन भएका छन् भने तबलावादक परशुराम पौडेल सचिव पदमा चयन भएका छन् । तीनवर्षे कार्यकालका लागि  ज्ञानकुमार खड्का कोषाध्यक्ष बनेका छन् । युवा कलाकारहरू जगन्नाथ धौगोडा, विराज पोखरेल, आस्मा थापा, हरिहर बोगटी, उत्तम पौडेल नयाँ कार्यकारी समितिका सदस्य बनेका छन् ।

तपाइँको प्रतिक्रिया ।