कपन संगीत सरोवरको सातौं वार्षिकोत्सव तथा तेस्रो साधारणसभा २९ गते

कपन अनलाइन०७० मंसिर २७ गते
कपनमा नियमित शास्त्रीय तथा भक्ति संगीतका क्षेत्रमा क्रियाशील कपन संगीत सरोवरले आफ्नो सातौं वार्षिकोत्सवको तयारीमा जुटेको छ । हरेक वर्ष कार्तिकमा हुने कपन संगीत सरोवरको वार्षिकोत्सव कार्यक्रम संस्थाका संगीत संयोजक विनय वर्मालाई पुत्रशोक परेका कारण एक महिना पर सारिएको थियो । मंसिर महिनाको अन्तिम शनिवार नियमित कार्यक्रमको श्रृंखलाअन्तर्गत हुने वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गीतकार यादव खरेल आउने जनाइएको छ । कार्यक्रममा शास्त्रीय संगीतका विशेष प्रस्तुतिसहित अन्य सांगीतक प्रस्तुतिसमेत रहने संस्थाका संगीत संयोजक परशुराम पौडेलले कपन अनलाइनलाई बताए । वार्षिकोत्सव कार्यक्रमका लागि वरिष्ठ तबलावादक अच्यूतराम भण्डारी तबला वादनका साथै शिवराज पौडेलको शास्त्रीय गायन रहने पौडेलले बताए ।

 

कपन संगीत सरोवरले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर एकजना वरिष्ठ शास्त्रीय संगीतको स्रष्टालाई सम्मान गर्ने गरेको छ । यसै क्रममा यसवर्ष वरिष्ठ संगीतज्ञ तबलावादक रामहरि गुरुङलाई सम्मान गरिने कुरा संगीत संयोजक पौडेलले बताए । रु. १० हजार नगद राशीसहितको यो सम्मान पाउने गुरुङ सातौं व्यक्ति हुनेछन् ।
कपन संगीत सरोवरले सातौं वार्षिकोत्सवको अवसरमा तेस्रो साधारणसभाको कार्यक्रमसमेत गरिने पौडेलले बताएका छन् । यसपाला साधारणसभा केही पदाधिकारी तथा सदस्यहरु परिवर्तन हुने पनि उनले बताए । मंसिर २९ गते शनिवार दिनको १ बजेबाट साधारणसभा संचालन हुने तथा दिनको २ बजेबाट वार्षिका कार्यक्रम संचालन हुने जानकारी पनि पौडेलले कपन अनलाइनलाई दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।