युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्छ : मन्त्री जगतबहादुर विश्वकर्मा
कपन अनलाइन
काठमाडौं ,माघ २४ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनु पर्ने बताएका छन् ।
काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताए । युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेशनल कलेज, न्यू समिट कलेज र हिमालयन कलेज अफ इञ्जिनीयरिङ कलेजले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
“युवाले स्वदेशमा काम गर्नका लागि लाज, सरम मान्ने गर्छन्” उनले भने , “विदेशमा गएर निकै तल्लोस्तरको काम गरिरहेका हुन्छन् ।” मन्त्री विश्वकर्माले युवाको भविष्यसँग देशको भविश्य जोडिएकाले विभिन्न सीप सिकी आयआर्जनका काममा लाग्न आग्रह गरे ।
उनले समाजमा व्याप्त रहेका विभेदको अन्त्य गर्दै आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण गरिने बताए । युवाले विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न खोज अनुसन्धानको माध्यमबाट राष्ट्रलाई योगदान दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।
“सरकारले युवाको श्रम, कला, सीप र प्रतिभाको उचित कदर गर्छ”, उनले भने , “कुनै एक विषयमा विज्ञता हासिल गर्दै समृद्ध मुलुक निर्माणको महान् अभियानमा हातेमालो गर्न म युवा जगत्लाई आग्रह गर्दछु ।”
मन्त्री विश्वकर्माले नेपाल भौगोलिक सहजता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको बताउँदै प्राकृतिक अनुकूलताको सदुपयोग गर्दै रोजगारी सिर्जना गर्न सकिने बताए । “भौगोलिकता र प्राकृतिक प्रतिकूलताका बाबजुत अन्य देशले विकासमा उल्लेख्य प्रगति हासिल गरिरहेका छन्”, उनले भने , “अब सामूहिक लक्ष्य, इच्छा शक्ति र सङ्कल्पका साथ नेपाललाई विकसित देशको दाजोमा पुर्याउनुपर्छ ।”
उनले नेपालमा शान्ति र राजनीतिक स्थिरता कायम भएको भन्दै दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकारले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गरे ।
न्यू समिटका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले काठमाडौँ उपत्यका र देशका विभिन्न ठूला शहरबाट गरी तीन हजार विद्यार्थी सहभागी भएको जानकारी दिदैं विद्यार्थीलाई सही दिशानिर्देश गर्दै सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
काठमाडौँ मोडलका प्रिन्सिपल सुरेन्द्र सुवेदीले सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको बताए ।
कार्यक्रममा केवाइसी–२०२० युथ आइकनबाट क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई रु एक लाखबाट सम्मान गरिएको थियो भने केवाइसी–२०२० विशेष अवार्डबाट राष्ट्रिय खेलाडी (तेक्वान्दो) आयशा शाक्यलाई सम्मान गरिएको थियो ।
गत वर्षदेखि शुरु गरिएको कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकले जनाएको छ ।