नेपाल निर्माण व्यवसायी महासंघ र विभिन्न समितिका सभापतिहरुबीच अन्तरक्रिया

नेपाल निर्माण व्यवसायी महासंघ र विभिन्न समितिका सभापतिहरुबीच अन्तरक्रिया

कपन अनलाइन

काठमाडौँ,माघ २३ । नेपाल निर्माण व्यवसायी महासंघले प्रतिनिधिमण्डलले प्रतिनिधि सभा तथा राष्ट्रिय सभा मातहत रहेका विभिन्न समितिका सभापतिहरु सहित राष्ट्रिय योजना अयोगका उपाध्यक्षलाई निर्माण व्यवसायीका समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको हालै सम्पन्न २१ औं साधारण सभाले जारी गरेको घोषणापत्र अवगत गराउने क्रममा निर्माण व्यवसायीका समस्या र समाधानका उपायका बारेमा जानकारी गराएको हो । महासंघले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, राष्ट्रिय सभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेँलसँग अलग अलग भेट तथा अन्तरक्रिया गरी व्यवसायीका समस्याहरु बारे जानकारी गराएको हो । जवाफमा सभापति सभापतिहरु सहित योजना आयोगका उपाध्यक्षले मुलुकको भौतिक पूर्वाधार विकास विस्तारमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै व्यवासयीहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए  ।


महासंघ प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले सरकारी निकायहरु निर्माण व्यवसायीहरुसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने धारणा राख्नुभयो । महासंघ प्रतिनिधिमण्डलले व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रावधान खारेजी तथा निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाका सम्बन्धमा सभापति खड्काको ध्यानाकर्षण गराएको थियो । जवाफमा सभापति खड्काले व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर गृह मन्त्रालयलाई लिखित निर्देशन दिइने बताए  ।
महासंघ प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा राष्ट्रिय सभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले निर्माण व्यवसायीको भूमिका विना मुलुकको विकास असम्भव रहेको धारणा राखे  । व्यवसायीहरुलाई काम गर्न जे जस्ता नियम तथा निर्देशिकाहरु बाँझिएका छन्, त्यसलाई परिमार्जन गर्न सम्बन्धित् निकायमा निर्देशन दिइने प्रतिबद्धता जनाए  । अन्तरक्रियामा वरिष्ठ अधिवक्ता तथा सभासद् राधेश्याम अधिकारीको पनि सहभागिता थियो ।
महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेँलले पूर्वाधारको विकास विना समृद्धि असम्भव रहेको बताए  । समृद्ध मुलुक निर्माणका लागि महासंघसँग सहकार्य गर्दै अघि बढ्ने उपाध्यक्ष कडेँलले बताए  । मुलुकको विकास निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासंघ “पिल्लर” भएको उनको धारणा थियो । योजना अयोगका सदस्य सुशील भट्ट पनि उक्त भेटघाटमा सहभागी भएका थिए ।
प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका महासंघका अध्यक्ष रवि सिंहले समृद्ध मुलुक निर्माणका लागि महासंघको २१ औं साधारण सभाले महत्वपूर्ण घोषणा पत्र जारी गरेको बताउँदै सबैको साथ सहयोग लिएर व्यवसायीहरु अघि बढ्न तयार रहेको बताए  । २१ औं साधारण सभाको भक्तपुर घोषणा–पत्र कार्यान्वयनको लागि ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले निर्माण व्यवसायीका मागहरु छिट्टै सम्बोधन हुने विश्वास व्यक्त गरे  ।

तपाइँको प्रतिक्रिया ।