सपना नदेख्नेले केही गर्न सक्दैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल

सपना नदेख्नेले केही गर्न सक्दैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौँ,माघ १९।  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्व शर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’ उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिए । ‘असल काम जसले गरेको भएपनि प्रशंसा गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको विश्वास र आर्शिवाद लिएर काम गर्नुपर्छ । जनतासँग मिलेर काम गर्न उपप्रधानमन्त्री पोखरेलले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । ‘भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ,’ उनले भने, ‘कुनै पनि नामबाट जनतालाई ढाट्ने ठग्ने काम गर्नुहुँदैन ।’ उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘संस्कृतिको रक्षा, सबै जातजाती भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो,’ उनले बताए ।उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउन ससरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नंं ५ (क) का प्रदेश सांसद नारायण सिलवालले पुनः निर्माण तथा नव निर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने बताए । ‘काठमाडौंमा खोनपानी समस्या छ । त्यो बाहेक अरु काम तिब्र गतिमा भइरहेको छ । अब मेलम्चीको पानी छिट्टै आउँछ,’ सांसद सिलवालले भने । सांसद सिलवालले अव्यवस्थित बिजुली र तारहरुलाई व्यवस्थित बनाउन सम्बन्धित निकायहरु लगिपरेको बताए । ‘बिजुली र तारहरुको व्यवस्थापन भएपछि सुन्दर बस्तिको रूपमा परिचित हुन्छ,’ उनले भने ।
 प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ५ अन्तरगत स्थानीय पूर्वाधार साझेदार कार्यक्रम र स्थानीय जनताको सहयोगमा ५५ लाखमा भवन निर्माण गरिएको हो ।
तपाइँको प्रतिक्रिया ।