चावहिल चोकमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास

चावहिल चोकमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास

कपन अनलाइन

काठमाडौं ,माघ १७। चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ ।  काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरेका  हुन् ।

आकाशे पुल शिलान्यास अवसरमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले  पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन  महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए  । यी पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् ।

सो कार्यक्रममा  बोल्दै वडाध्यक्ष शुद्धकुमार डंगोलले  पैदल यात्रुको अधिक चाप भएकाले चावहिल चोकमा आकाशे पुलका ठूलो खाँचो भएको बताए  । यस ठाउँमा निर्माण सम्पन्न भएपछि सडक र यात्रुको चाप हेरेर हामी अन्य ठाउँमा पनि पूर्वाधार बनाउँछौं । वडाध्यक्ष डंगोलले भने  ‘आकाशे पुल बनेपछि पैदल यात्रुलाई मात्र होइन दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ ।’

उद्घाटनका अवसरमा उपस्थिति भएका स्थानीय तथा पैदल यात्रुले — पुल बन्नु आफ्नालागि सुखद् भएको प्रतिक्रिया दिएका  थिए  ।

फलामबाट बन्ने यो पुल निर्माणको लागत अनुमान १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ रहेको  छ । बोलपत्र आव्हान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर काम जिम्मेवारी पाएको छ । निर्माण पक्षसँग गएको कार्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ

तपाइँको प्रतिक्रिया ।