राजनीतिक संस्कार सुधारको खाँचो !

राजनीतिक संस्कार सुधारको खाँचो !

कपन अनलाइन

काठमाडौं, माघ १०/ प्रशुराम अधिकारी

राजनीति शास्त्रीय रुपमा राजनीतिक चिन्तक र दार्शनिकहरुको चिन्तनको उपज हो । व्यवहारतः यो जन कल्याणको विषय हो । पछिल्लो समय यो कल्याण भन्दा पनि जनताको हक, हित र अधिकारसँग जोडिएको छ । समयक्रममा राजनीतिक शैलीहरु परिवर्तन भएपनि सुरुदेखि अहिलेसम्म राजनीतिक केन्द्र भनेको देश र जनता नै हुन । राजनीति देश र जनताको चिन्तन गर्ने विषय हो ।
राजनीति सिद्धान्त मात्रै नभएर व्यवहारिक विज्ञान पनि हो । अर्थात दार्शनिक सिद्धान्त र व्यवहारिक विज्ञानको संगम हो राजनीति । व्यवहार विनाको राजनीतिक सिद्धान्त र सिद्धान्त विनाको राजनीतिक व्यवहार दुवै काम नलाग्ने हुन्छन् । त्यसैले राजनीतिकको मूल ध्येय सिद्धान्तलाई व्यवहारिक बनाएर देश र जनतालाई युग अनुकुल डोर्याउने हुनुपर्छ । राजनीतिक माध्यमबाट समाजलाई वा जनतालाई सत्य, प्रेम र न्यायको सन्देश व्यवहारिक रुपमा दिनसक्नुपर्छ ।
राजनीति समाजको अनिवार्य सर्त हो । राजनीति जनताका लागि नभई नहुने विषय हो, त्यसैले राजनीति जनताका लागि हुनुपर्छ । राजनीति राज्यको आवश्यकता र मानवीय अस्तित्वलाई जीवित राख्न मात्र होइन मानव जीवनलाई उत्कृष्ट बनाउन हो । त्यसैले राजनीति समाजसँग र मानवसँग घनिष्ट भएर जोडिनु पर्छ । राजनीति जनताको सम्पत्ति हो । न त यो कसैको पेवा हो न त कसैको पेसा, व्यवसाय वा धन कमाउने आधार नै हो । जनताको सेवा गर्ने संकल्प हो राजनीति । त्यसैले राजनीतिमा लाग्नु भनेको चानचुने कुरा होइन । यो त एउटा बलियो दृढ अठोट विना सम्भव हुँदैन । राजनीति आफ्नो लागि चिन्ता गर्ने विषय नै होइन र राजनीतिमा व्यक्तिगत हार र जीतको अर्थ हुँदैन, महत्व रहदैन ।
इमान्दारीता, नैतिकता, सामाजिक–सांस्कृतिक सर्ब स्वीकार्यता, ज्ञान र चिन्तन तथा हक, अधिकार र भलाईको चाहाना राजनीतिका गहना हुन । यि विनाको राजनीतिको अर्थ रहदैन । त्यसैले राजनीति युग अनुकुल परिवर्तन हुने विचारहरुको व्यवहारिक विज्ञान हो । पृथक दर्शन र विचारहरुको टकराव मात्रै पनि होइन राजनीति । सामुहिक र व्यक्तिगत प्रतिस्पर्धा र सफलता मात्रै पनि होइन । त्यसैले पार्टी, दल, जाति, भाषा, धर्म, र क्षेत्रमा मात्रै पनि सिमित हुनुहुन्न । समाजसँग जोडिएको हुनाले अवश्य पनि राजनीतिमा स्थानियता हुनुपर्छ र समाजको भलाई र सकारात्मक परिवर्तनको आकांक्षा हुनुपर्छ ।
विश्व राजनीतिक दर्शनका आधारमा खासगरी दुई खेमामा विभाजित छ । साम्यवादी खेमा र पुँजीवादी खेमा । यि दुई फरक राजनीतिक दर्शनको उद्देश्य भनेको समतामूलक समाजको स्थापना नै हो । नेपालमा भएका राजनीतिक दलहरु पनि समाजवाद स्थापनाका लागि लडिरहेका छन् । फरक दर्शनबाट निर्देशित भए पनि सबै राजनीतिक दलको गन्तव्य एउटै हो र पुग्ने बाटो पनि एउटै भइरहेको छ । पुँजीवादी विचारधाराका पुँजीवाद हुँदै समाजवादमा जाने भनिरहेका छन् भने साम्यवादी विचारधाराका दलहरु पनि व्यवहारिक रुपमा पुँजीवादलाई अँगाली सकेका छन् र समाजवाद हुँदै साम्यवादमा जाने भनिरहेका छन् । समाजवाद सबैको गन्तव्य देखिन्छ । समाजवाद भनेको समतामूलक समाजको स्थापना गर्ने भन्ने नै हो ।भेदभाव रहित समाज नै समाजवादको उद्देश्य हो ।

विश्वमा जति पनि राजनीतिक सिद्धान्त र व्यवस्थाहरु प्रचलनमा छन्, ती सबैको एउटै उद्देश्य मानव कल्याण, मानवहित, सामाजिक उत्थान र विकास नै हो । यहि उद्देश्य र लक्ष्य बोकेर विश्वका धेरै राजनीतिक विचार र दलहरुले राजनीति गरें र आफ्नो देश र समाजलाई विकसित तुल्याए, विकसित बनाइरहेका छन् । उत्तरी युरोपका स्केन्डेभियन देशहरु यसको विशिष्ट नमुना हुन । जुन देशहरु पुँजीवादका पक्षपाती हुन तिनै देशहरु समाजवादी व्यवहार गरीरहेका छन् ।

नेपाल लगायत दक्षिण एसियामा भारतीय चरित्रको राजनीतिक संस्कारको दबदबा छ । यस्तो परीपाटीबाट यहाँका जुनसुकै राजनीतिक दलहरु प्नि उम्कन सकेका छैनन् । त्यसैले नेपालले चिनिया राजनीतिक संस्कार वा जापानी राजनीतिक संस्कार वा युरोपेली र अमेरिकी राजनीतिक संस्कारलाई ग्रहण गर्न सकेन, सकिरहेको छैन । राजनीतिक संस्कार मात्रै पनि आफैमा दोषी हैन । त्यही राजनीतिक संस्कारकै भारत विकास र समृद्धिमा निकै अगाडि देखा परिरहेको छ तर नेपाल अझै पनि आफ्नै गतिमा छ ।
नेपालमा यतिखेर हरेक क्षेत्र राजनीतिबाट आजित छ । समाज राजनीतिबाट बिखण्डीत भैरहेको छ । फरक राजनीतिक विचार बोकेका आफ्नै दाजुभाईबीच आत्मियता छैन । फरक राजनीतिक पार्टीका दुई छिमेकी छिमेकीबीच आत्मिय सम्बन्ध छैन । यहाँ त छिमेकी भन्दा बढ्ता राजनीति हावी छ । व्यक्तिवादी प्रवृति हावी भैरहेको छ ।
नेपाल जस्तो देशमा पनि समान राजनीतिक दर्शन बोक्ने यति धेरै राजनीतिक पार्टी नै पार्टी छन् । राजनीतिक पार्टीभित्र पनि गुटै गुट । के का लागि यति धेरै राजनीतिक दल वा पार्टी ? देश भन्दा पार्टी ठूलो, पार्टी भन्दा गुट ठूलो, गुट भन्दा व्यक्ति ठूलो यसरी नेपालमा राजनीति विकृत भैरहेको छ । हरेक तह तप्का र क्षेत्रमा राजनीतिक दलको आफ्नो मान्छे, प्रत्येक नौ नौ महिना पनि नटिक्ने सरकार र सरकारी निकाय र संगठनहरुमा सरकार अनुसार फेरीरहने नीति, नियम, निर्देशन, योजना र व्यक्ति । के यसरी हामी राजनीतिक स्थायित्व प्राप्त गर्न सक्छौ । यसरी नै विकास र परिवर्तनलाई अगाडि बढाउन सक्छौ ? हामीले अंगालेको अथवा समातेको राजनीतिक दर्शनको गन्तव्य भेट्टाउन सक्छौं ? सक्दैनौं भने किन परम्परागत ढङ्गले नै राजनीतिमा फसीरहने ? देशको राजनीतिक अस्थिरता, हरेक क्षेत्रमा बढीरहेको राजनीतिक हस्तक्षेप, राजनीतिक दलहरुमा मौलाईरहेको भ्रष्टचार, राजनीतिज्ञहरु सर्वश्रेष्ठ हुने प्रवृत्ति, राजनीतिक दलहरुमा मौलाईरहेको गुट, उपगुट, राजनीतिले समाजका हरेक क्षेत्रको विकासमा पारेको नकरात्मक प्रभाव, आफ्नो स्वार्थमा बढी सक्रिय हुने राजनीतिज्ञहरु, राजनीतिज्ञहरुको भ्रष्ट, विलासी र तडकभडक युक्त जीवनशैली, अपराधलाई राजनीतिकरण र राजनीतिक संरक्षण गर्ने प्रचलन, बन्द हड्ताल जस्ता राजनीतिक विरोधको शैली, सरकारी निकाय र संस्थानहरुमा फैलिएको ट्रेड युनियनको दादागिरी, खर्चिलो चुनाव, समाजका साना पक्षमा पनि बढेको राजनीतिक किचलो र राजनीतिले विखण्डीत बनाइरहेको सामाजिक अवस्था आदिले गर्दा नेपालमा पछिल्लो समय जनतामा र खासगरी युवा पुस्तामा राजनीतिक वितृष्णा फैलिरहेको छ ।
अधिकांश युवा जमात राजनीतिबाट टाढा रहन चाहिरहेको छ । अर्थात राजनीति भनेको फोहोरी खेल हो भन्ने मात्रै बुझिरहेको छ । राजनीतिमा पस्न नै चाहिरेको छैन । गलत काम र संस्कारलाई राजनीति भनेर बुझाइरहेको छ । जसको कारण वितृष्णा फैलिएर ठूलो जमात विदेशी रहेको छ । साथै बौद्धिक पलायनको प्रवृत्ति पनि बढीरहेको छ । केका लागि राजनीति गर्छन हाम्रा राजनीतिज्ञहरु ? राजनीतिमा लाग्नुको अर्थ राज्य सत्ता सम्हाल्नु र राज्यका विभिन्न अंगहरु तथा संगठनहरुमा राज गर्नु र प्रशस्त धन सम्पत्ति जम्मा गरेर बिलासी जीवन बिताउनु हो ? किन राजनीतिक व्यवहार दर्शन अनुरुप चल्दैन ? किन राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढीरहेको छ ? किन राजनीतिज्ञहरुको विचार र व्यवहारमा विरोधाभास देखिन्छ ? किन राजनीतिमा फरक विचारलाई निषेध गरिन्छ ? किन वर्तमान राजनीतिले सामाजिक भलाई हेरिरहेको छैन ? किन राजनीतिले सामाजिक उत्थान र विकास गरिरहेको छैन ? किन राजनीतिले समाजलाई एकतामा जोडिरहेको छैन ? किन हरेक क्षेत्रमा राजनीतिक दादागिरी हावी छ ? यस्ता कैयन सवालहरुको जवाफ खोज्नुपर्छ हाम्रा राजनीतिज्ञले र राजनीतिको परम्परागत विचारका संकुचित दायराबाट निस्कनु पर्छ । राजनीतिले समाजको भलो सोच्नुपर्छ र समाजलाई एकताबद्ध गर्न सक्नुपर्छ अनि मात्रै राजनीतिको अर्थ रहन्छ, राजनीतिमा लागेको सार्थकता रहन्छ । राजनीतिज्ञहरु आफैंमा नमुना, उदाहरणीय र अनुकरणीय भएर आफ्नो कर्ममा दृढ रहनुपर्छ । जसको अनुसरण अरु धेरैले गरुन र एउटा असल संस्कारको विकास होस् ।
सामाजिक रुपान्तरण अर्थात समाजको उत्थान र विकास नै राजनीतिक दर्शन र कर्मको विजय हो । त्यसैले राजनीतिज्ञहरुले सामाजिक कल्याण र विकासका कार्यक्रमहरु चलाएर, जनतालाई आफ्नो हक अधिकार साथै देश र समाजप्रतिको कर्तव्य र दायित्वप्रति जागरुक गराएर, समाजलाई अथवा जनतालाई समुदायको सर्वाङ्गिण विकासका हरेक प्रक्रिया र क्रियाकलापमा सहभागी र चेतनशील बनाएर, जनतालाई उत्पादनमूलक क्रियाकलापमा उत्साहित गराई आर्थिक उन्नतीतर्फ अग्रसर गराएर राजनीतिक संस्कार सुधार गरी राजनीतिक कर्म गर्न सकिन्छ । राजनीतिक कर्मको श्रेष्ठता र सर्वोच्चता स्थापित हुन्छ र देश र जनताको भलाई र कल्याण हुनुका साथै देश विकासको गतिमा अगाडि बढ्छ ।

तपाइँको प्रतिक्रिया ।