बूढानीलकण्ठ – २ कामीटारमा २० हजार लिटर घरेलु मदिरा प्रहरी द्वारा नष्ट

बूढानीलकण्ठ – २ कामीटारमा २० हजार लिटर घरेलु मदिरा प्रहरी द्वारा नष्ट

कपन अनलाइन

काठमाडौं ,माघ ७

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित संयुक्त बसपार्क नजिक कामीटारमा तयारी अवस्थामा रहेको ५ हजार र कच्चापदार्थ १५ हजार गरी २० हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।

व्यवसायिक रुपमा मदिरा उत्पादन गर्ने संचालक पत्ता नलागेका कारण १० मदिरा उत्पादकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विगत एक वर्षदेखि अबैध तथा व्यवसायिक रुपमा २० वटा टहरामा उत्पादित घरेलु मदिरा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीको नेतृत्वमा ५० जना प्रहरी टोलीले नष्ट गरेको हो ।

उत्पादित मदिरामा होटलबाट खेर गएका अन्न, बंगुरको आन्द्राभुडी, कवाडी जुता–चप्पल, फोहोर कपडा तथा होटलबाट निस्किने फोहोरमैला लगायतका स्वास्थ्यलाई नकरात्मक असर गर्ने पदार्थ मिसाईने गरेको प्रहरीले जनाएको छ ।

सो अवसरमा महानगरीय प्रहरी बृत महाराजगञ्जका प्रहरी महानिरीक्षक उमेश लम्सालले घरेलु मदिरा उत्पादन नियन्त्रण गर्न समाजमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले घरेलु मदिरा उत्पादनले समाजमा विभिन्न खालका नराम्रा गतिविधि बढेको धारणा व्यक्त गर्दै त्यस किसिमका व्यवसायलाई बन्द गर्न आवश्यक रहेको बताएका थिए।

तपाइँको प्रतिक्रिया ।