सरकारको प्राथमिकतामा धार्मिक पर्यटन : पर्यटनमन्त्री योगेश कुमार भट्टराई

सरकारको प्राथमिकतामा धार्मिक पर्यटन :  पर्यटनमन्त्री योगेश कुमार भट्टराई

कपन अनलाइन

काठमाडौं, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् ।
उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त छौं ।’–उनले भने । उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे ।

शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए ।‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ।’–उनले भने,‘हाम्रो देश सानो देश भएपनि सांस्कृति, सामाजिक र धार्मिक रुपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ ।’
उनले नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थलपनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिकस्थल र तिनीहरुको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरु यहाँ सुरक्षित हुनेपनि उनले विश्वास दिलाए । ‘र, सहज ढंगले आवातजावत गर्न सकेका छन् ।’–मन्त्री भट्टराईले थपे ।
उनले वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए । तर, बाहिर आलोचना भएपनि सरकारले विकास र समृद्धिको लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । ‘भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्नको लागि दुईवटा संस्था धार्मिक संस्था पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले अहिले राम्रोसँग काम गरिरहेका छन् । धार्मिक पर्यटनलाई पनि भ्रमण वर्षसँग जोड्ने काम गरेका छौं ।’ उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्नेपनि घोषणा गरे ।
त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रुपमा सफल पार्न र मनाउनको लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले धार्मिक महायज्ञले धर्म, संस्कृतिको रक्षा गर्ने विश्वास व्यक्त गरे । ‘यस्तो महायज्ञले धर्म र संस्कृतिप्रतिको आस्था र विश्वास बढाउँछ । यो भनेको सबैको साझा गन्तब्य हो ।’–धमलाले थपे ।
नेपाल गौतम बुद्ध, मुक्तिनाथ, माता जानकी, पशुपतिनाथको देश भएको सुनाउँदै नेपालमा धार्मिक पर्यटनको ठूलो संभावना रहेको धमलाको भनाई छ । ‘धार्मिक पर्यटनको विकास र सम्वद्र्धनको लागि अब राष्ट्रव्यापी अभियान अघि बढाउनुपर्छ । यस्तो कोटिहोमलाई राज्यले सहयोग गर्नुपर्छ । माननीय मन्त्री योगेश भट्टराईले यो महायज्ञलाई सहयोग गर्नुहुन्छ । म यसमा पूर्ण विश्वस्त छु । आगामी दिनमा पनि यस्ताखाले धार्मिक महायज्ञ गर्दै जानुपर्छ ।’ धमलाले नेपालको धार्मिक यात्राको लागि भारत र चीनबाट ठूलो संख्यामा पर्यटकहरु आउनेपनि बताए ।

तपाइँको प्रतिक्रिया ।