सुरभिको ११२ औँ आख्यानवाचन शृङ्खला सम्पन्न
कपन अनलाइन
काठमाडौं, पुस २० । सुरभि साहित्य प्रतिष्ठानको ११२ औँ आख्यानवाचन शृङ्खलामा प्रकाशमणि दहालको ‘महाभारतका कथा’ कृति लोकार्पण भएको छ । तिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रा. गोपीकृष्ण शर्माको प्रमुख आतिथ्य र ठाकुरप्रसाद शर्माको विशिष्ट आतिथ्यता रहेका थिए ।
अन्य अतिथिहरुमा डा. विदुर चालिसे, प्रा.डा. लेखप्रसाद निरौला, सुरभि साहित्य प्रतिष्ठानका सल्लाहकार एवम् सुलेखका संरक्षकद्वय वेदमणि घिमिरे र युवराज मैनाली लोकार्पित कृतिका लेखक प्रकाशमणि दाहाल, कथाकार रमेशजङ्ग थापा, कथाकार महेन्द्र चालिसे, गङ्गाप्रसाद भेटवाल र देवमणि दाहाल रहेका थिए ।
कार्यक्रमलाई कथावाचन, पुस्तक लोकार्पण र पुनः कथावाचन गरी तीन खण्डमा सञ्चालन गरिएको थियो । पुस्तक लोकार्पणपछि समीक्षक प्रा. डा. लेखप्रसाद निरौलाले पुस्तकमा भएका कथाहरूको समग्रमा समीक्षा गर्दै ‘महाभारतका कथा’ कृतिमा महाभारका मूल कथालाई आफ्नै मौलिकपनमा ढालेर सबैले बुझ्न सक्ने बनाइदिनुभएको छ भन्दै त्यहाँका पात्रलाई मौलिक मै आधुनिकीकरण गर्नुभएको छ, त्यसकारण यो पुस्तक पठनीय छ भन्ने कुरा बताए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा. गोपीकृष्ण शर्माले कृति उदाहरणीय र सङ्ग्रहणीय भएको बताउँदै सुरभि साहित्य प्रतिष्ठान मात्र एक यस्तो साहित्यिक संस्था हो जसले कथावाचन गराएर नयाँ काम गरिरहेको बताए ।
उक्त कार्यक्रममा डा. विदुर चालिसेले कृति वास्तविक असल र पठनीय भएको कुरा बताउँदै यस पुस्तकका कतिपय पात्र नेपाली नाम सुहाउँदो पात्र भएको जानकारी दिए । उनले कृतिको अन्त्यमा भएको अनुसूचीको कुरा उठाएर मूल पात्रको परिचय दिनुभएकोमा सबैका लागि उत्तम भएको बताए
उक्त कार्यक्रममा अतिथि वक्ता वेदमणि घिमिरेले सुरभि साहित्य प्रतिष्ठान १० वर्षमा पुगेकोमा बधाई दिँदै निरन्तर कथासाहित्यमा निरन्तरता दिन आग्रह गरे ।
सुरभिका कोषाध्यक्ष रामकुमार पण्डितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुस्तक लोकार्पणअगाडि र पछाडि वाचित कथाका कथाकारहरूमा वर्षा खड्का, कुसुम शर्मा, सुशील आचार्य, रञ्जना पराजुली लम्साल, रञ्जु खनाल, समीना खनाल, पवित्रा अधिकारी, शारदा पराजुली, महेशकुमार वाग्ले, कान्छा तिवारी, रमेशजङ्ग थापा, घनश्याम प्रसाईं र राजिव रानाभाट रहेका थिए।
कार्यक्रमको सञ्चालन सुरभि साहित्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गरेका थिए ।