श्री माधवनारायाण स्वस्थानी ब्रत तथा शालिनदी मेलाको विशेष तयारी

श्री माधवनारायाण स्वस्थानी ब्रत तथा शालिनदी मेलाको विशेष तयारी

कपन अनलाइन 

काठमाडौं, पुस २०।पुस २४ गतेबाट माघ २५ गतेसम्म विगत देखि मनाउदै आएको श्री माधवनारायाण स्वस्थानी ब्रत तथा शालिनदी एक महिने मेलाको विशेष तयारी भईरहेको छ ।

करिब २५ लाख भक्तजनको  आगमन हुने  अनुमान गरिएको  उक्त मेलामा शान्ति सुरक्षा, सवारी पार्किङको व्यवस्था, खानाको मुल्य तथा बस भाडामा एकरुपता कायम गर्न मेलाको विशेष तयारी गरिएको हो।

शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले हाल चाबहिल–जोरपाटी हुदै साँखु आउने मूल सडक हाल अव्यवस्थित रहेको जानकारी गराए । सडकको समस्या समाधान गर्न तत्काल सडक विभागको सहयोगमा मर्मत गरी आवतजावत गर्न सहज बनाईने जनाएका छन् ।

स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठले पहिले ब्रतालुहरुका सामग्रीहरु परदेश जाने क्रममा (फर्पिङ, पशुपति, पनौति र चाँगु) जाँदा आफैले बोक्नु पर्ने स्मरण गर्दै यस वर्षबाट समितिले ब्रतालुहरुको सामग्री लगिदिने र ल्याईदिने व्यवस्था गरिएको बताए ।

मूल्य सूची राखि होटलहरुको अनुगमन, माग्नको लागि बस्नेहरुलाई समेत स्थान विशेषको व्यवस्था, मेलामा राखिएका पसलहरुलाई व्यवस्थित गराईने समेत कार्यक्रम संयोजक विजयकृष्ण भाष्करले जानकारी दिएका छन् ।

समितिका विजयकुमार भाष्करले कार्यक्रमको जानकारी गराउदै पसलहरुमा मूल्य सूची राखि अनुगमन गरिने, बस भाडा देखिने गरि बसमा र विभिन्न सार्वजनिक स्थानमा टाँसिने जनाए ।

नगर प्रमुख सुवर्ण श्रेष्ठ, आयोजक टिम र संचारकर्मीहरुले सम्मेलनपछि शालिनदी क्षेत्रको स्थलगत अवलोकन भ्रमण समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।