मुख्यमन्त्री डोरमणि पौडेलद्वार प्रदेश नं ३ मा दुग्ध विकास बोर्डको उद्घाटन
कपन अनलाइन
काठमाडौँ,पुस ९ । प्रदेश नं ३ मा दुग्ध विकास बोर्डको स्थापना भएको छ । मंगलबार एक समारोहका बीच मुख्यमन्त्री डोरमणि पौडेलले बोर्डको कार्यालय उद्घाटन गरेका हुन् ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री अध्यक्ष रहने बोर्डमा उपाध्यक्ष तथा सदस्यहरुको चयन भने केही दिनपछि गरिने जनाइएको छ । निजी, सहकारी तथा सरकारी क्षेत्रको सहभागितामा दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थको प्रशोधन एवं बजारीकरणमार्फत दिगो आर्थिक समृद्धि हासिल गर्नका लागि प्रदेश दुग्ध विकास बोर्ड स्थापना गरिएको जनाइएको छ ।
प्रदेशस्तरमा दुग्ध व्यवसायसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन तथा दुग्ध क्षेत्रको विकास गर्न प्रदेश दुग्ध विकास बोर्डको आवश्यकता रहेको बोर्डका निर्देशक डा नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल देशको दुग्ध पदार्थको कूल उत्पादनमा प्रदेश नं ३ को करिब २६ प्रतिशत योगदान रहेको छ । हालको बजारको मागअनुसार प्रदेशलाई करिब ४ प्रतिशत उत्पादन बढाउनुपर्ने देखिन्छ । निर्देशक श्रेष्ठका अनुसार आगामी तीन वर्षभित्र प्रदेशलाई दूधमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले थोरै मात्र पहल गर्ने हो भने दूध र दुग्ध पदार्थमा प्रदेश आत्मनिर्भर हुने बताए । बोर्डको कार्यालय उद्घाटन गर्नुहुँदै पौडेलले सरकार गठनलगत्तै सरकारले बोर्डको आवश्यकता महसुस गरेर १४ महिना अगाडि नै कार्यविधि बनाइएको बताए ।
उनले बोर्ड स्थापना गर्नुको वास्तविक मर्मलाई बुझेर काम गर्नुपर्नेमा जोड दिए । “हामी अलमल गर्ने वा परिणामविहीन काम गर्ने पक्षमा छैनौँ, यो बोर्डको औचित्यअनुसार काम नभएको पाए घिसीपिटी ढङ्गमा लगिरहने पक्षमा हामी छैनौँ”, उनले भने । उद्देश्यअनुसार नभए केका लागि काम गर्ने भन्ने प्रश्नको जवाफ खोज्न ढिलाइ गर्ननहुने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा बोर्डका अध्यक्ष दावा दोर्जे लामाले बोर्डले तीव्रगतिमा काम गर्ने बताए । हाल निर्देशक चयन गरिसकेको र केही दिनभित्र सबै समूह तयार पार्ने उनले बताए । बोर्डका कर्मचारीहरुले जागिर खानेभन्दा पनि कामगर्ने मानसिकताले अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले किसानहरुलाई उन्नत जातका गाई तथा भैँसीको कृत्रिम गर्भाधान गराउन आवश्यक बीजहरु सहज तरिकाले उपलब्ध गराउन प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकेको पनि जानकारी दिए ।