प्रबिधिजन्य फोहोर व्यवस्थापन सम्बन्धि प्रस्तावमा महानगरको चासो
कपन अनलाइन
काठमाडौं,मंसिर २४। प्रदुषण व्यवस्थापनका दृष्टिले अहिले काठमाडौं महानगर क्षेत्रको अवस्थामा सुधार आएको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नियमित काम र सबैको एउटै मतले सन्तोष मान्ने ठाउँमा पुग्न समय नलाग्ने बताएका छन।
सोमबार काठमाडौंमा कार्यपालिका सदस्य तथा वडा सदस्यहरुका लागि आयोजना गरिएको ४ दिवसीय फोहोरमैला व्यवस्थापन सम्बन्धि पुनर्ताजगी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले भने काठमाडौंमा घरेलु फोहोरको मात्र समस्या नरहेको बताउदै । निर्माण कार्यमा भएको लापर्वाहीले धुँवा धुलोको समस्या थपिएको छ । यी काम गर्ने व्यक्ति व्यवस्थापनमा जिम्मेवार हुने हो भने समस्या जरैमा समाधान हुन्छ । तर, कतै कतै मनमा पनि फोहोर छ । मनको फोहोरले बाहिर सफा हुन नसकेको हो । यदि मन सफा गर्ने हो भने, बाहिरी सफाइमा समस्या छैन ।
उनले लगानी बोर्डमार्फत अघि बढेको फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताको प्रसङ्ग उठाउँदै भने बोर्डको प्रक्रिया टुङ्गोमा नपुगेकाले, महानगरसँग प्राप्त भएका प्रबिधिजन्य फोहोर व्यवस्थापनका प्रस्तावमाथि छलफल गर्न थालेका छौं । काठमाडौंको फोहोर निजी र गैरसरकारी क्षेत्रसँग मिलेर हिजो पनि हामीले नै व्यवस्थापन गरेका थियौं । आज पनि गरिरहेका छौं र भोलि पनि महानगरले नै गर्ने हो, मेयर शाक्यको भनाइ थियो ।
सो कार्यक्रममा बोल्दै पूर्व मन्त्री गणेश शाहले जन्मेदेखि मृत्यु नहुञ्जेल मानिसलाई चाहिने हावा र पानीको शुद्धिकरणका लागि बिशेष नीति तथा योजना ल्याउन महानगरलाई सुझाव दिए । शिशु जन्मिनेबित्तिकै खाना र पानी नचाहिन सक्छ तर हावा नभइ हुँदैन । व्यक्तिले जीवनको अन्तिममा खाना छोड्न सक्छ, पानी छोड्न सक्छ तर हावा छोड्ने बित्तिकै उसको जीवन जोखिममा पर्छ । त्यसैले यसप्रकारको योजना आवश्यक पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै प्रशासन बिभागका प्रमुख नमराज ढकालले जनप्रतिनिधि र कर्मचारीको क्षमता बिकासबाट सहरी व्यवस्थापनमा दक्षता बढाउँदै गएको धारणा राखे भने वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नो बिभाग घरेलु फोहोरको दिगो व्यवस्थापनसँगै रिचार्ज काठमाडौं र आकाशे पानी संकलन बिधिको प्रवर्धनमा लागेको बताए ।
अभिमुखीकरणमा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सार्वजनिक स्थानमा देखिने धुँवा धुलो व्यवस्थापनका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै, पूर्वाधार निर्माणमा धेरै निकाय भएको, यी निकायहरु एकआपसमा सहयोगी नभए आफू आफ्नै कार्यक्रममा जिम्मेवार भएकाले समस्या भएको उल्लेख गरे । त्यस्तै गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयका अवस्था र व्यवस्थापनमा प्रस्तुति गर्दै, महानगरमा भएका शौचालय राम्ररी उपयोग गर्न नसकिएको तथ्य उल्लेख गर्दै, भएकालाई व्यवस्थित गर्ने र नभएका ठाउँमा उपयुक्त बिधिको शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्न यस सम्बन्धि छुट्टै नीति आवश्यक रहेको बताए ।
घरेल फोहोर व्यवस्थापन र वातावरणीय सुधारका बिषयमा प्रस्तुति गर्दै जानु डंगालले फोहोर उत्पादकलाई व्यवस्थापनको पहिलो जिम्मेवार बनाउनु पर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा लैजानु पर्ने बताइन् ।
महानगरका ३२ वटा वडालाई आधा आधा गरेर हरेक समूहलाई २-२ दिनको अभिमुखीकरणमा सहभागी गराइनेछ ।
फोटो सौजन्य: काठमाडौं अनलाइन