पुरुष क्रिकेट : स्वर्ण पदक बंगलादेशलाई, नेपाललाई कास्य

पुरुष क्रिकेट : स्वर्ण पदक बंगलादेशलाई, नेपाललाई कास्य

कपन अनलाइन

काठमाडौं, मंसिर २४ । १३ औं साग अन्तर्गत पुरुष क्रिकेटतर्फको स्वर्ण पदक बंगलादेशले जितेको छ ।

सोमबार टियु मैदान किर्तिपुरमा सम्पन्न फाइनलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै बंगलादेशले स्वर्ण पदक जितेको हो। श्रीलंकाले रजत पदक जित्यो। आजै सम्पन्न कास्य पदकको लागि खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक आफ्नो नाम गर्यो ।

स्वर्ण पदकको लागि टियु मैदानमा सम्पन्न खेलमा श्रीलंकाले दिएको १२३ रनको लक्ष्य बंगलादेशले ३ विकेट गुमाएर १८.१ ओभरमा पुरा गर्यो।

बंगलादेशको लागि कप्तान नज्मुल हुसेनले अविजित ३५ रन बनाए भने सिफ हुसेनले ३३, सौम्य सरकारले २७ तथा यासिर अलिले १९ रन बनाए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। श्रीलंकाको लागि शम्मु अशनले सर्वा्धिक २५ तथा पाथुम निस्संकाले २२ रन योगदान दिए। बंगलादेश बलर हसन महमुदले सर्वा्धिक ३ विकेट तथा तन्भिर इस्लामले २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच हसन महमुद चुनिए।

नेपाललाई कास्य

सोमबारै सम्पन्न कास्य पदकको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्यो।

माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि आरिफ शेखले सर्बा्धिक ३२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, रोहित पौडेलले १४ रन र बिनोद भण्डारीले १२ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको माल्दिभ्सले २० ओभरको समाप्तीमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो। उसको लागि कप्तान मोहम्मद महफुजले सर्वा्धिक १९ रन तथा मोहम्मद रिजवानले १७ रन बनाए।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका लागि देब्रे हाते स्पिनर ललितसिंह राजबंशीले ३ विकेट लिए। ४ ओभर बलिङ्ग गरेका उनले मात्र ६ रन खर्चे। सुशन भारिले २ विकेट तथा पारस खड्काले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ललित राजबंशी चुनिए

तपाइँको प्रतिक्रिया ।