करातेमा नेपाललाई १० स्वर्ण पदक
कपनअनलाइन
काठमाडौं,मंसिर १८। काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छिन् ।
महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।
यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन ।