सागको उद्घाटन र समापनको दिन यातायातमा जोर–विजोर प्रणाली
कपनअनलाइन
काठमाडौं,मंसिर १३। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापनको दिनमा काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनका लागि जोर विजोर प्रणाली लागु हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेल उद्घाटनको दिन मङ्सिर १५ गते विजोर नम्बर प्लेटका र समापनको दिन मङ्सिर २४ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने जनाएको छ ।
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले उद्घाटन र समापनका दिनमा सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरेको छ ।
महाशाखाले बिहीबार सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालबाहक सवारीसाधन रिङ्रोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोधसमेत गरेको छ ।
महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ्ग गर्न, ट्राफिक सम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ ।