नेपाल ल क्याम्पसले तीन सय विद्यार्थी मात्रै भर्ना लिने
कपनअनलाइन
काठमाडौं,मंसिर ९ । काठमाडौंको प्रदर्शनमार्गस्थित नेपाल ल क्याम्पसले अबदेखि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना लिने भएको छ । गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएपछि यसपटक कोटा निर्धारण गरिएको हो ।
ल क्याम्पसले तीन सय जना विद्यार्थी मात्रै भर्ना लिने भएको छ । क्याम्पसले सोमबार सूचना निकालेर डिन कार्यालयको पत्रअनुसार तीन सय जना मात्रै भर्ना लिने उल्लेख गरेको छ ।
तीन वर्षे एलएलबी पढ्न भर्ना हुनका लागि पनि प्रवेश परीक्षा पास गर्नुपर्ने नियम बनाइएको छ ।
‘शैक्षिक सत्र २०७५/०७६ को एलएलबी पहिलो वर्षमा भर्ना हुन चाहने विद्यार्थीले मंसिर १० (मंगलबार) देखि मंसिर २५ गतेसम्म क्याम्पसले उपलब्ध गराएको आवेदन फारम भरिसक्नुपर्नेछ,’ क्याम्पसले निकालेको सूचनामा भनिएको छ ।
फारम क्याम्पस परिसरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र भर्न सकिनेछ । यसअघि क्याम्पसले गत चैत २८ मा निकालेको सूचनाअनुसार फारम भरिसकेकाहरूले पुनः फारम भर्न नपर्ने क्याम्पसले जनाएको छ ।
प्रवेश परीक्षा कहिले गर्ने अहिले तोकिसकिएको छैन । गत वर्ष नै ल क्याम्पसमा कोटा निर्धारण गरिए पनि लागू भएको थिएन ।
आठ सय जना विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिए पनि विद्यार्थी संगठनहरूले उत्तरपुस्तिका नै च्यातिदिएपछि प्रवेश परीक्षाविनै भर्ना लिइएको थियो ।
गत वर्ष १२ हजार जना विद्यार्थीले एलएलबी पहिलो वर्षमा भर्ना गरेका थिए । जसबाट क्याम्पसलाई १० करोड रुपैयाँभन्दा बढी शुल्क उठेको थियो ।
एलएलबी पहिलो वर्ष पढ्न विद्यार्थीले ९ हजार एक सय ५० रुपैयाँ तिर्नुपर्छ । विद्यार्थी संख्या बढेअनुसार शिक्षक र कर्मचारी मात्र होइन भौतिक संरचना पनि ल क्याम्पसमा अभाव छ ।
दुई वर्षअघि ल पढ्न चार हजार दुई सय ३८ जनाले भर्ना गरे पनि त्यो संख्या बढेर गत वर्ष १२ हजार पुगेको थियो ।