महागढीमाई नगरपालिकाका विद्यालय १० दिन बन्द हुने

महागढीमाई नगरपालिकाका विद्यालय १० दिन बन्द हुने

कपनअनलाइन

बारा,मंसिर ४ ।महागढीमाई नगरपालिका–१ स्थित  गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए ।समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मेला मङ्सिर ३० गतेसम्म चल्नेछ । भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताए ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताए । सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । मेलामा ६० सीसी क्यामरा जडान गरिनेछ । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ ।

तपाइँको प्रतिक्रिया ।