उम्मेदवार र सम्भावित बिजेतालाई लिएर माहौल तात्दै

कपनअनलाइनसम्भावित उम्मेदवार र उनीहरुको बिजयका बारेमा क्षेत्र नं. ४ का चोकचोकमा बिहानैदेखि चर्काचर्की हुन थालेको छ । नेपाली कांग्रेसका गगन थापा र एमाओवादीका पासाङ क्षेत्र नं. ४ बाट उठ्ने सम्भावना बढ्दै जाँदा उनीहरुका कारण चोकहरु तातेका हुन् । देशले नै यो क्षेत्रमा कसले जित्ला भनेर विशेष महत्व दिइरहेको बेला सम्भावित उम्मेदवारहरु पनि क्षेत्रका विभिन्न ठाउँमा भ्रमण गरिरहेका छन् । 

 

विहान चिया पसलदेखि राति भट्टि पसलसम्म कसले जित्ला भन्ने विषय बहश चलिरहेको बेला ३ दिन अघि कपन अनलाइनले गगनभन्दा पासाङ कमजोर भन्ने समाचार प्रकाशित गरेपछि झनै माहौल गर्माएको हो । कपन अनलाइनले प्राप्त गरेका एक सर्वेक्षणलाई आधार बनाएर प्रकाशित समाचारमा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगन थापाले एमाओवादीका पासाङले भन्दा ५००० बढि मत ल्याएर चुनाव जित्ने अनुमान गरिएको थियो । त्यसैगरी हाल पासाङ अस्थायी बसोबास गरिरहेका कपन, जुन क्षेत्र नं. ४ को सबैभन्दा बढि जनसंख्या भएको गाविस पनि हो, कपनमा एमालेले सबैभन्दा बढि मत ल्याउने सर्वेक्षणको अनुमानले चुनावी सरगर्मीेलाई तताउन झनै मलजल दिएको हो । विशेषगरेर कपनबाट सबैभन्दा बढि मत ल्याउने भनिरहेको एमाओवादीलाई यो समाचारले ठूलो प्रभावित पारेको देखिन्छ भने संभावित बिजेता भनिएका गगन थापाले तेस्रो नंबरमा भोट आउने भन्ने अनुमानले कपन कांग्रेस पनि प्रभावित छ ।

 

कपन एमाले भने केही दिन यता खासै सक्रिय देखिदैन । यो विषयमा कपन एमाले अध्यक्ष ध्रुवराज न्यौपाने उम्मेदवार को हुने पक्का भएर पार्टीले घोषणा नगरिकन होहल्ला गर्नुमा कुनै तुक नभएको बताउँछन् । चुनाव प्रचारप्रसार वा गतिबिधि भनेको उम्मेदवार पक्का भएपछि गरिने विषय हो उनले थपे ।

 

यसैबीच कपनका चोक तथा सडकमा पासाङले आफ्नो उम्मेदवारी फिर्ता लिने भन्ने हल्ला पनि चलेको छ । यस क्षेत्रमा जित्न संभावना क्षीण देखिएकोले पासाङजस्तो उचाई भएको नेता हार्दा पार्टीलाई असर पर्ने हुँदा उनी रोल्पा जाने हल्ला पनि उचाइमा छ । तर कपन एमाओवादी अध्यक्ष शिब बजगाइँ भने यस क्षेत्रबाट पासाङबाहेक अरु उम्मेदवार नहुने बताउँछन् । कपन एमाओवादी बिहानदेखि बेलुकासम्म चुनावी माहौल बनाउन घरघर हिँडिरहेको देखिन्छ । त्यसो त पार्टीभित्रको अत्यन्त ठूलो अन्र्तसंघर्षमा गुज्रिरहेको नेपाली कांग्रेसले पनि गगन थापालाई क्षेत्र नं. ४ मा नउठाएर क्षेत्र नं. ७ तिर पठाउने हल्ला आफैमा कमजोर छैन । बाँकेबाट पार्टी सभापति सुशिल कोइराला बिजय हुने सम्भावना कम भएकोले क्षेत्र नं. ४ मा आउने हल्ला पनि छ । तर कपन कांग्रेस, गगन थापा नै यस क्षेत्रमा आउने विषयमा ढुक्क सरह देखिएको छ । पछिल्ला १० दिनमा गगन थापा पनि कपनमा करिब १० पटक आएका छन् ।

 
होहल्ला नगरिरहेको नेकपा एमालेको तर्फबाट पछिल्ला दिनमा निर्मल कुइँकेल यस क्षेत्रमा आउने कुरा व्यापक भए पनि अझै कसले टिकट पाउने विषयमा पक्का भैनसकेको देखिन्छ । विद्यादेवी भण्डारी नउठेर निर्मल कुइँकेल यस क्षेत्रबाट उठ्दा सम्भावित बिजेता बन्न सकिने अनुमान गरेर बसिरहेको एमाले आफ्ना कार्यकर्ताबीच आन्तरिक तयारीमा भने व्यापकपमा जुटिरहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।